मेस्सीको ५०औं ह्याट्रिकमा सेभियामाथि बार्सिलोनाको रबाफिलो जित

0

नेप्लेज, ११ फागुन । लियोनल मेस्सीले करिअरमा ६५०औं गोल तथा ५०औं ह्याट्रिक पूरा गरेको खेलमा स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति बार्सिलोनाले सेभियालाई ४-२ गोलअन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा सेभियाले दुई पटकसम्म लिएको अग्रता जोगाउन नसक्दा पराजय ब्यहोर्नुपरेको हो । खराव लयमा रहेको सेभियाले ला लिगामा पछिल्लो पाँचमध्ये एक खेलमात्र जितेको छ । गत महिना कोपा डेल रेमा पनि सेभिया बार्सिलोनासँग पराजित भएको थियो ।

जेसस नाभाले २२औं मिनेटमा गरेको गोलले घरेलु समर्थक उत्साहित भएका थिए । तर, त्यसको चार मिनेटपछि नै मेस्सीले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । ४२औं मिनेटमा पाब्लो साराबियाको पासमा गाब्रियल मार्काडोले सेभियालाई पुनः अग्रता दिलाए । सेभियाले पहिलो हाफ २-१ को अग्रतामा टुंग्यायो ।

दोस्रो हाफमा सुधारिएको बार्सिलोनाका लागि मेस्सीले ६७औं मिनेटमा डेम्बेलेको पासमा गोल गरे । ८५औं मिनेटमा गोल गरी बार्सिलोनालाई अग्रता दिलाए भने ह्याट्रिक पूरा गरे । इन्ज्यूरी समयको अन्तिम मिनेटमा लुईस स्वारेजले बार्सिलोनालाई ४-२ गोलको जित निश्चित गरे ।

मेस्सीको यो करिअरको ५०औं ह्याट्रिक हो । सेभियाबिरुद्ध पनि उनको रेकर्ड राम्रो छ । सेभियाबिरुद्ध खेलेका पछिल्ला ३५ खेलमा मेस्सीले ३६ गोल गरेका छन् ।

यो जितले बार्सिलोनाले ला लिगाको शीर्ष स्थानमा १० अंकको स्पष्ट अग्रता कायम गरेको छ । २५ खेलबाट बार्सिलोनाको ५७ अंक भएको छ । एक खेल कम खेलेको एट्लेटिको मड्रिडको ४७ अंक छ । २४ खेलबाटै रियल मड्रिडको ४५ अंक छ ।

Post Add 1025X115
Loading...