गणेशमान बक्सिङमा सुशील र दिवान क्वाटरफाइनलमा

0

काठमाडा, २२ माघ । त्रिभुवन आर्मी क्लबका सुशुल थापा र नेपाल पुलिस क्लबकी दिवान शर्मा तेस्रो वीर गणेशमान राष्ट्रिय बक्सिङ प्रतियोगिता २०७५ को क्वाटरफाइनलमा पुगेका छन् ।

पुरुष ४९ केजी समूहमा त्रिभुवन आर्मी क्लबका सुशील थापाले प्रदेश ४ का सुरज गुरुङलाई हराए । त्यस्तै नेपाल पुलिस क्लबकी दिवान शर्माले प्रदेश ४ कि आकृति गुरुङलाई पहिलो राउण्डमा नै पराजित गरिन् ।

प्रतियोगिताको पहिलो खेलमा पुरुष ४९ केजीमा प्रदेश २ का पवन श्रेष्ठले प्रदेश १ का धर्मेन्द्र राईलाई पराजित गरे । पुरुष ५६ केजी तौल समूहमा प्रदेश १ का सुरेन्द्र राईले प्रदेश ४ का दुथबहादुर परियारलाई पहिलो राउण्डमा नै पाखा लगाए ।

महिलातर्फ ४६ देखि ४८ केजी तौल समूहमा प्रदेश ५ कि सुशिला थापाले प्रदेश २ कि सपना गुरुङलाई हराइन् । पुरुष ६० केजी तौल समूहमा प्रदेश ३ का सनिल शाही र प्रदेश ८ का भारत चन्दले जित हासिल गरे ।

सनिलले प्रदेश ६ का सागर श्रेष्ठलाई पहिलो राउण्डमा हराए भने भरतले प्रदेश १ का रोविन प्रधानलाई पराजित गरे । दिनको अन्तिम खेलमा पुरुष ६४ केजीतर्फ प्रदेश २ का किशोर शर्माले प्रदेश ७ का विक्रम चौधरीलाई हराए । सबै विजेता खेलाडीले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

उद्घाटन समारोहमा बक्सिङका पूर्वखेलाडी एवं प्रशिक्षक सुरेश आलेमगरलाई १ लाख १ हजार नगदसहिद सम्मान गरियो । कार्यक्रममा गणेशमान सिंह फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहले मगरलाई प्रशंसा पत्रसहित सम्मान गरे । माघ २६ सम्म चल्ने प्रतियोगितामा सात प्रदेशबाट छनोट भएका उत्कृष्ट खेलाडीहरु प्रतिस्पर्धा गरिरहेका छन् ।

Post Add 1025X115
Loading...