नेपालमा आयोजना हुने बडिबिल्डिङ च्याम्पियनसिपको क्यालेन्डर अमेरिकामा पनि सार्वजनिक

0

नेपालमा पहिलो पल्ट आयोजना हुन लागेको ‘आइएफबिबि प्रोफेसन लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९ (प्रो क्वालिफायर)’ को क्यालेन्डर अमेरिकामा पनि सार्वजनिक भएको छ ।

‘आइएफबिबि प्रोफेसनल लिग’ को अमेरिकास्थित मुख्यालयले फागुन ३–४ (फेब्रुअरी १५–१६) मा प्रज्ञा भवन कमलादीमा आयोजना हुन लागेको प्रतियोगिताको विषयमा क्यालेन्डर सार्वजनिक गरेको हो । क्यालेन्डरमा ‘आइएफबिबि प्रोफेसनल लिग’ को पहिलो क्वालिफायर खेल नै नेपालमा आयोजना हुन लागेको सार्वजनिक भएको छ । नेपालभन्दा अगाडि भारतको ४ वटा शहरमा यो प्रतियोगिता आयोजना हुन लागे पनि ती प्रतियोगिताहरू क्षेत्रिय (रिजनल) भएको बताइएको छ ।

तर नेपालमा आयोजना हुन लागेको प्रतियोगिता ‘प्रो क्वालिफायर’ हो । नेपालमा यो प्रतियोगिताको आयोजकको रुपमा ‘आइएफबिबि लिग नेपाल’ नामक संस्था रहेको छ । संस्थाका अध्यक्ष सानु गुरुङले दिएको जानकारी अनुसार यो नेपाली बडिबिल्डिङका लागि मात्र नभएर सम्पूर्ण खेलका लागि खुसीको खबर हो ।

‘विश्वका नामुद बडिबिल्डरहरू आवद्ध भएको संस्थाले आफ्नो क्यालेन्डरमा नेपालको नाम उल्लेख गरेर क्यालेन्डर सार्वजनिक गर्नु गौरवको कुरा हो,’ तीन पल्टका ‘मिस्टर नेपाल’, दुई पल्टका ‘धर्मश्री’ विजेता तथा तीन पल्टका ‘मिस्टर हङकङ’ सानु गुरुङले भने, ‘यसले विश्वभरी छरिएर रहेका बडिबिल्डरहरूको माझ नेपाल पनि बडिबिल्डरहरूको देश हो भनेर चिनाउन मद्दत पुग्ने छ ।’

आइएफबिबि प्रोफेसन लिगले आफ्नो ‘वेभ साइट’ मा प्रतियोगिताको ‘फ्लायर’ पनि सार्वजनिक गरेको छ । ‘फ्लायर’ मा विश्वको सर्वोच्च सगरमाथाको पृष्ठभूमिमा ‘गेष्ट पोजर’ को रुपमा नेपाल आउन लागेको संसारकै सबैभन्दा ठूलो ज्यान भएका बडिबिल्डर रोली विङ्कलारको फोटो समावेश गरिएको छ ।

‘आइएफबिबि लिग नेपाल’ ले गत बुधबार मात्र पत्रकार सम्मेलनको आयोजना गरेर विङ्कलार नेपाल आउन लागेको सार्वजनिक गरेको थियो । संस्थाले विहिबार विङकलारले आफू छिट्टै नेपाल आउन लागेको सन्देशसहितको भिडियो पनि सार्वजनिक गरेको थियो । ‘आइएफबिबि प्रोफेसन लिग’ मा हलिउड नायक तथा क्यालिफोर्निया राज्यका पूर्व गर्भनर आर्नोल्ड स्वेज्नेगर पनि आवद्ध छन् । आर्नोल्डको नाममा यो संस्थाले हरेक वर्ष ‘आर्नोल्ड क्लासिक’ प्रतियोगिताको पनि आयोजना गर्दै आइरहेको छ ।

नेपालमा आयोजना हुन लागेको प्रतियोगिता ‘मिस्टर ओलम्पिया’ को छनोट खेल हो । यो प्रतियोगितामा भाग लिन विश्वभरीका बडिबिल्डर नेपाल आउँदैछन् । ‘मिस्टर ओलम्पिया’ लाई बडिबिल्डिङको विश्वकप मानिन्छ । आर्नोल्डले यो प्रतियोगिता ७ पल्ट जितेका थिए । यही प्रतियोगिताको जितपछि आर्नोल्डको फिल्मी करिअरको सुरुवात भएको थियो ।

‘हामीलाई विश्वभरीबाट इमेल प्राप्त भइरहेको छ,’ अध्यक्ष गुरुङले भने– ‘खेलाडीहरूले नेपाल आउने प्रक्रिया के हो ? भिषा कत्तिको सहजरुपमा पाइन्छ भनेर सोधिरहेका छन् ।’ अमेरिकास्थित आइएफबिबि प्रोफेसन लिगको मुख्यालयले आफ्नो क्यालेन्डरमा नेपालको नाम सहभागी गराएपछि विश्व चर्चित बडिबिल्डरहरूले देशको प्रोफाइल सोशल मिडियाबाट हेर्न थालेको गुरुङले बताए ।

‘हिजो आज ‘हाई गोर्खाज’ भन्दै इमेल आउन थालेको छ,’ उनले खुसी मान्दै बताए । अध्यक्ष गुरुङले प्रतियोगिताको तयारी पनि अन्तिम चरणमा पुगेको जानकारी गराएका छन् ।

Post Add 1025X115
Loading...