नेपालकाे लक्ष्य थाइल्याण्ड ‘ए’ विरूद्द जित निकालेर समुह विजेता बन्ने

0

थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले आयोजक थाइल्याण्डको ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्दै छ।

थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा आज हुने समूह चरणको अन्तिम खेलमा दुवै टोली जित निकाल्ने उद्देश्यसाथ मैदानमा उत्रदैछन् । अघिल्ला तीन खेलमा लगातार जित निकालेको नेपालले थाइल्याण्डलाई हराउँदै समूह विजेता बन्ने लक्ष्यसहित मैदानमा उत्रनेछ ।

थाइल्याण्ड भने प्रतियोगितामा सान्त्वना जितको खोजीमा हुनेछ । यसअघि दुई खेल खेलेको थाइल्याण्ड दुई खेलमा पराजय भोग्दै अङ्कविहीन छ भने प्रतियोगताबाट समेत बाहिरिसकेको छ ।

प्रतियोगिताको सेमिफाइनलमा समूह ‘ए’ बाट नेपाल र संयुक्त अरब इमिरेट्स (युएइ) यसअघि नै प्रवेश गरिसकेका छन् । नेपाल र थाइल्याण्डबीचको खेलबाट समूह विजेताको टुङ्गो लाग्नेछ ।  जारी प्रतियोगितामा तीन खेल खेलेको नेपालले तीनै खेलमा जित हात पार्दै ६ अङ्क जोडेको छ ।

युएइले चार खेलबाट ६ अङ्क जोडेको छ । अङ्क तालीकामा युएइ शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ । यदि थाइल्याण्डलाई पराजित गरेमा नेपाल समूहको विजेता बन्नेछ ।

शनिबार भएको पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराएको थियो । आइतबार भएको दोस्रो खेलमा मलेशियालाई छ विकेटले पराजित गरेको थियो । सोमबार भएको तेस्रो खेलमा नेपालले युएइलाई ६ विकेटले हराएको थियो ।

Post Add 1025X115
Loading...