जिम्मेवारी सम्हाल्न कतिकाे तयार छन् नयाँ पुस्ताका क्रिकेटर ?

0

पछिल्लो समय नेपाली क्रिकेटमा युवा खेलाडीको प्रदर्शन निकै महत्वपूर्ण रहँदै आएको छ । फ्रेन्चाइजी लिग होस वा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता, युवा खेलाडीले राम्रो प्रदर्शन गर्दै आएका छन् ।

केही समयअघि सम्पन्न पोखरा प्रिमियर लिग र एभरेष्ट प्रिमियर लिगमा सबैभन्दा धेरै रन बनाउने नेपाली खेलाडी दिपेन्द्र सिंह ऐरी रहे । यस्तै प्रदीप ऐरी, विनोद भण्डारी, रोहित कुमार पौडेल, आरिफ शेख जस्ता खेलाडी पनि राम्रो फर्ममा छन् । आशन्न युएई भ्रमणमा पनि यीनै खेलाडीको प्रदर्शन उत्कृष्ट हुने अपेक्षा छ ।

‘अहिले आएका नयाँ केटाहरुमा राम्रो क्षमता छ,’ प्रशिक्षक जगत टमाटाले उनीहरुको भविष्य निकै राम्रो रहेको प्रतिक्रिया दिए । ‘टि–२० मा जुन प्रकारको प्रदर्शन गरेका छन्, उनीहरुको फ्युचर निकै राम्रो छ ।’

धेरै विकेट लिने नेपाली खेलाडी पनि युवा नै छन् । पछिल्लो समय बलिङमा सन्दिप लामिछाने, पवन सर्राफ, सुशन भारी, सन्दिप जोरा, करण केसी, ललितसिंह भण्डारी, ललित राजवंशी जस्ता खेलाडी जम्दै आएका छन् । घरेलु प्रतियोगिताहरु उनीहरुले उत्कृष्ट प्रदर्शन गरेका छन् । सन्दिप लामिछानेले त अन्तर्राष्ट्रिय एरेनामा समेत आफ्नो छाप छोडिसकेका छन् । युवाहरुका कारण राष्ट्रिय टिममा पनि जोश आएको अनुभव सिनियर खेलाडीको छ । ‘अहिले एउटा योङ् टिम छनोट भएको छ, त्यसले गर्दा पनि नयाँ जोश थपिएको छ,’ राष्ट्रिय टिमका सिनियर खेलाडी शरद भेषावकर भन्छन् ।

‘देखिरहेका छौं, जुन पनि लिगमा युवा खेलाडीको प्रदर्शन निकै राम्रो देखिँदै आएको छ । नयाँ नयाँ खेलाडीहरु आइरहँदा टिममा उर्जा थप गरेको छ ।’ एक दिवशीय प्रतियोगिता कम भएपनि टि–२० प्रतियोगिता भने नियमित रुपमा संचालन हुँदै आएका छन् । जसले गर्दा युवा खेलाडीले पनि आफ्नो क्षमता प्रस्तुत गर्ने मौका पनि पाइरहेका छन् । युवा खेलाडीको संख्या बढ्नुले क्रिकेटमा भविष्य खोजिरहेका अन्य युवा खेलाडीलाई पनि प्रेरणा मिल्न सक्नेछ ।

Post Add 1025X115
Loading...