प्रधानमन्त्रीको निर्देशनः ‘खेलकूदका नाममा विदेश जानेको सम्पूर्ण विवरण बुझाउनुस्’

0

काठमाडौं, २९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक पारदर्शिताको काम खेलकूदबाट शुरु गर्ने प्रष्ट पारेका छन् ।

राष्ट्रिय खेलकूद परिषदका अध्यक्ष (विभागीय मन्त्री) उपाध्यक्ष र सदस्यसचिबलाई सरकारी निवास वालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले २०६३ साल यता खेलकूदका नाममा विदेश भ्रमण गर्ने खेलाडी र पदाधिकारीको सम्पूर्ण विवरण १० दिन भित्र पेश गर्न निर्देशन पनि दिएका हुन् ।

आर्थिक पारदर्शितामा सरकार चुकेको आरोप लागि रहेका बेला प्रधानमन्त्री ओलीले आर्थिक अनुशासनमा रहेर काम गर्न राखेपका पदाधिकारीलाई पनि सचेत गराएका हुन् ।

पछिल्लो समय राखेपका विषयमा विभिन्न टिका टिप्पणीहरु आईरहेको प्रति चासो ब्यक्त गर्दै प्रधानमन्त्री ओलीले खेलकूदका कुनै पनि गतिविधि गर्दा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राखेपका उपाध्यक्ष पिताम्बर तिम्सेना र सदस्यसचिव केशबकुमार विष्टको सहमतिमा मात्रै अघि बढाउन पनि निर्देशन दिएका छन् ।

हप्तामा २ पटक मन्त्री (राखेप अध्यक्ष), उपाध्यक्ष र सदस्यसचिबको अनिवार्य बैठक बस्नुपर्नेमा पनि प्रधानमन्त्री ओलीले निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीसँगको छलफलमा राखेपका पदाधिकारीले आसन्न आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि आवश्यक बजेट व्यवस्था गर्न आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले ढुक्कसँग आर्थिक पारदर्शिता कायम गरेर अघि बढ्न आग्रह गर्दै बजेटका कारण प्रतियोगितालाई कुनै असर पर्न नदिने प्रतिवद्धता पनि व्यक्त गरे ।

Post Add 1025X115
Loading...