क्रिकेट खेलाडीले एक बर्षपछि गर्न पाए ‘बलिङ मेसीन’ मा प्रशिक्षण

0

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीले एक बर्षपछि बल्ल बलिङ मेसीनबाट प्रशिक्षणको मौका पाएका छन ।

युएई विरुद्धको तीन एकदिवसिय र तीन टी–२० सिरीजका लागि अभ्यासमा रहेका खेलाडीलाई आइसीसीले बलिङ मेसीन पठाएको छ । यसका साथै टिमले राष्ट्रिय खेलकुद परिषदसँग बलिङ मेसीको अभाव भएको भन्दै आग्रह गरेपछि टिमलाई उपलब्ध गराएको थियो । नेपालले एकदिवसिय मान्यता पाउने प्रतियोगिताको तयारी गर्दापनि बलिङ मेसीन बिग्रिएका कारण राम्रोसँग ब्याटिङको प्रशिक्षण गर्न पाएका थिएनन् ।

क्रिकेट टिमले एक बर्ष अगाडीसम्म चार बर्षदेखि निरन्तर रुपमा एउटा मेसीनबाट प्रशिक्षण गर्दै आएका थिए । करीव ५ लाख रुपैयाँ बजार भाउ रहेको बलिङ मेसीनका लागि परिषद्सँग आग्रह गर्दापछि ५ महिनाको अन्तरालपछि मात्र टिमले पाएको हो ।

यतिबेला खेलाडी राष्ट्रिय खेलकुद परिषद्ले उपलब्ध गराएको मेसीनबाट प्रशिक्षण गरिरहेका छन । आइसीसीले दुई दिन अगाडीमात्र अर्को मेसीन टिमलाई दिलाएको थियो । नेपाल क्रिकेट संघ निलम्बनमा परेपछि कुनैपनि कुराको आवश्यकताका लागि सबै कुरा आइसीसीसँग माग्नुपर्दा कस्तो कठिन हुन्छ भन्ने उदाहरण बलिङ मेसीन हो । एक बर्षको अन्तरालमा नेपाली क्रिकेट टिमले तीन वटा अन्तराष्ट्रिय प्रतियोगिता खेल्यो । तर ब्याटिङको प्रशिक्षण म्यानुयल रुपमा गरेको थियो ।

यसअघि टिमसँग रहेको बलिङ मेसीन समय समयमा विग्रिएपनि बनाउदै प्रशिक्षण गर्दै आएका थिए । तर पछिल्लो सात महिना देखि भने पुरानो मेसीन पुरै थन्किएको थियो ।

Post Add 1025X115
Loading...