नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघद्वारा महेश्वर सम्मानित

0

काठमाडौं, १६ पुस । विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण जित्दै इतिहास रचेका महेश्वर महर्जन नगदसहित सम्मानित भएका छन् ।

नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले पूर्व घोषित नगद पुरस्कार ३ लाख रुपैयाँ प्रदान गरी महेश्वरलाई सम्मान गरेका हुन् ।

अध्यक्ष श्रेष्ठले पुस १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महेश्वरलाई स्वागत गर्न आयोजित कार्यक्रममा व्यक्तिगत रुपमा प्रोत्साहन स्वरुप महेश्वरलाई नगद ३ लाख रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए ।

सोही कार्यक्रममा फिट्नस च्वाइसका प्रबन्ध निर्देशक उत्तम सिलवालले १ लाख २० हजार,शारीरिक सुगठन संघका सदस्य मोहनकृष्ण श्रेष्ठले ५१ हजार, शारीरिक सुगठन संघका प्रथम उपाध्यक्ष एवं पूर्व एआईजी विजयलाल कायश्थ, शारीरिक सुगठन संघका उपाध्यक्ष राजेश उपाध्याय र डिभाइन फिजिकल फिट्नेस सेन्टरले समान ५० हजार, आरभ मल्टीनेसन प्रा.लि.की रज्जु रन्जितकार तथा शारीरिक सुगठन संघका कोषाध्यक्ष सागर बगालेले समान २५ हजार नगद पुरस्कार महेश्वरलाई उपलब्ध गराएका थिए ।

शारीरिक सुगठनसंग कुनै नाता नभएका गोपी बर्तौलाले पनि फेसबुकबाट थाहा पाएको जानकारीकै भरमा कार्यक्रम स्थलमै महेश्वरलाई नगद ५० हजार दिएका थिए ।

सोही अवसरमा विश्व शारीरिक सुगठनका रजत विजेताद्वय ननिता महर्जन र रुजेश शाहीलाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो । त्यस्तै महेश्वरसंगै टिम व्यवस्थापकका रुपमा थाइल्यान्ड गएका श्याम श्रेष्ठ पनि सोही अवसरमा सम्मानित भए । श्याम विश्व शारीरिक सुगठनमा नेपाललाई पदक (कांस्य) दिलाउने पहिलो खेलाडी हुन् ।

थाइल्यान्डको चाङमाइमा डिसेम्बर ११ देखि १७ तारिखसम्म भएको १० औं विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपअन्तर्गत शारीरिक सुगठनको पुरुष ७५ केजीमा महेश्वरले स्वर्ण जितेका थिए । महेश्वरले जितेको उक्त स्वर्ण नेपाली शारीरिक सुगठनको इतिहासमा पहिलो हो । विश्व शारीरिक सुगठनको फरक संस्करणमा ननिता महर्जन तथा रुजेश शाहीले रजतसम्म जितेका थिए ।

महेश्वर एसियाली शारीरिक सुगठनका पनि एक मात्र स्वर्ण विजेता नेपाली खेलाडी हुन् । महेश्वरले भुटानमा भएको ५० औं एसियाली शारीरिक सुगठनमा उक्त सफलता हात पारेका थिए । ताहचल निवासी ३५ वर्षीय महेश्वर ११ औं दक्षिण एसियाली शारीरिक सुगठनका पनि कांस्य विजेता हुन् । महेश्वरलाई शनिबार शुभतारा स्कुलले पनि आफ्नो वार्षिक खेलकुद दिवसको समापनका अवसरमा नगद ५० हजारसहित सम्मान गरेको थियो ।

कार्यक्रममा महेश्वरले सम्मानले भविष्यमा अझ ठूलो सफलता प्राप्त गर्न प्रेरणा मिलेको बताउदै सम्मान गर्ने सबैलाई धन्यवाद दिए ।

Post Add 1025X115
Loading...