‘ए’ डिभिजन लिगमा थ्रिस्टार र पुलिस समान २-० ले विजयी

0

सहिद स्मारक ए डिभिजन लिगमा थ्रिस्टार क्लवले राम्रो कमब्याक गरेको छ । तेस्रो चरणको खेलमा मनाङसँग पराजित भएको थ्रिस्टारले आज न्यूरोड टिम एनआरटीलाई दुई शुन्यले हरायो । जितसँगै थ्रिस्टार लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा थ्रिस्टारले एनआरटी विरुद्ध सहज जित निकाल्यो । जारी लिगमा तेस्रो जित निकाल्ने क्रममा थ्रिस्टारका रञ्जित धिमाल र मार्टिन्सले एक एक गाेल गरे । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ७५ औं मिनेटमा एनआरटीको गोलकिपरले फल गर्दा थ्रिस्टारले पेनाल्टी पायो ।

तर सो पेनाल्टीमा रञ्जित धिमालले गोल गर्न सफल भए । पहिलो प्रहार रिबाउन्डा भएपछि रञ्जितले गोल गरे । त्यसपछि एनआरटी खेलमा फर्कन सकेन यता थ्रिस्टारले इन्जुरी समयको पहिलो मिनेटमा दोस्रो गोल थप्यो । उसका लागि मार्टिन्सले गोल गरे ।

यता हलचोमा भएको खेलमा च्यासल युथ क्लव नेपाल पुलिससँग दुई शुन्यले पराजित भयो । आर्मीसँग पराजित भएको पुलिसले च्यासल विरुद्ध भने राम्रो फुटबल खेल्यो ।

पुलिसले खेलको ४० औं मिनेटमा रवि पासवानको गोल मार्फत अग्रता बनायो । यो लिगमा बलिया खेलाडी अनुबन्ध गरेको च्यासल विरुद्ध पुलिसले ८९ औं मिनेटमा दोस्रो गोल गर्यो । उसका लागि भरत शाहले गोल गर्न सफल भए । जितपछि थ्रिस्टारको चार खेलबाट नौ अंक भएको छ भने पुलिसको सात अंक भएको छ ।

Post Add 1025X115
Loading...