संकटा विरूद्द ५-१ काे प्रभावशाली जित निकालेकाे अार्मी लिगकाे शिर्ष स्थानमा

0

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आजको पहिलो खेलमा त्रिभुवन आर्मीले संकटा क्लवलाई ५-१ ले हराउँदै लिगको शिर्ष स्थानमा उक्लिएको छ । यसका साथै संकटाको अपराजित यात्रामा पनि आर्मीले ब्रेक लगाएको छ ।

सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा आर्मीको जितमा टेकबहादुर बुढाथोकीले दुई गोल गरे । सुरुवाती तीन खेलमा निकै प्रभावशाली प्रदर्शन गरेको संकटा आर्मी विरुद्ध भने निकै फितलो रह्यो । त्यसोत संकटाले एक गोलको अग्रता जोगाउन सकेन ।

खेलको नौ मिनेटमा संकटाले विदेशी खेलाडी इलोन म्याक्सवेलको गोल मार्फत अग्रता बनाएको थियो । तर १७ औं मिनेटमा आर्मीले खेल बराबरी गर्यो । उसका टेक बहादुर बुढाथोकीले गोल गर्न सफल भए । आक्रामक फुटबल खेलेका दुबै टिमले त्यसपछि पनि केहि मुभ बनाएका थिए । जसमा आर्मीले ३० औं मिनेटमा अर्को गोल थप्यो ।

यसपटक आर्मीका लागि भरत खवासले गोल गरे । मुख्य स्ट्राइकर नवयुग श्रेष्ठ र जर्जप्रिन्स कार्की विना नै मैदानमा उत्रिएको आर्मी दोस्रो हाफमा झन आक्रामक फुटबल खेल्यो । त्यसोत संकटाले पनि दोस्रो हाफको सुरुवातमा नै पेनाल्टीको अवसर पाएको थियो । तर त्यो पेनाल्टीलाई अमित तामाङले सदुपयोग गर्न सकेनन् । त्यसको विपरित आर्मीले दोस्रो हाफमा थप दुई गोल गर्यो ।

खेलको ६३ औं मिनेटमा सन्तोष तामाङले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै आर्मीलाई तीन एकको अवस्थामा पुर्याए । त्यसपछि ६६ औं मिनेटमा आर्मीले चौथो गोल थप्यो । यसपटक फेरी टेकबहादुर बुढाथोकीले गोल गरे ।

त्यसपछि ७७ औं मिनेटमा दिनेश हेम्जनले संकटाको डिफेन्सको गल्तिको फाइदा उठाउदै टिमका लागि पाँचौ गोल गरे । जितसँगै आर्मीले चार खेलबाट १० अंक बनाउदै शिर्ष स्थानमा उक्लिएको छ ।

Post Add 1025X115
Loading...