प्रतिष्ठाको लडाईंमा मनाङ् विजयी, रेफ्रीको निर्णयमा दुबै प्रशिक्षक असन्तुष्ट

0

नेप्लेज । ए डिभिजन लिग फुटबलमा बिहीबार चिरपरिचीत प्रतिद्वन्द्वी सिंग्नेचर मनाङ मस्र्याङ्दी र रुस्लान थ्री स्टार आमने सामने भए । जसमा मनाङले थ्री स्टारमाथि २–१ गोलको अन्तरले जित निकाल्न सफल भयो । लिगमा थ्रीस्टारमाथि मनाङको जित पछिल्लो एक दशकमै पहिलो थियो ।

घरेलु फुटबल ठूला टिम भनिएका यी दुई टिम हुन् जसको नतिजाले खेलमा मात्र होइन दर्शकमा पनि ठूलो प्रभाव पार्दछ । प्रतिष्ठाको लडाईं पनि हो यी दुई टिमको म्याच ।

त्यही प्रतिष्ठाका लागि दुबै टिमका खेलाडीले आफ्नो जिउ–ज्यान पनि लगाए । त्यही प्रतिष्ठा आफ्नो पक्षमा पार्नका लागि खेलमा फुटबल भन्दा पनि धेरै नाटक र तानातान देख्न पाइयो । दर्शकले खचाखच भरिएको एन्फा मैदान सातदोबाटोको प्याराफिट पुरै भरिँदा मनाङ र थ्री स्टारका समर्थकहरुको चर्को हुटिङले पनि मैदान गुञ्जायमान देखियो ।

हुन त पाँच बर्ष पछि ए डिभिजन लिग हुनु आफैमा घरेलु दर्शकका लागि ठूलो कुरा हो । यसमा पनि समर्थन गर्ने क्लबहरु आ आफ्नै हुन्छन् । त्यसैले त समर्थकहरु टिकेट काटेरै खेल हेर्न मैदानसम्म पुग्छन् । मनाङका खेलाडीको खुट्टामा बल हुँदा मनाङका समर्थकहरुको आवाज ठूलो हुन्थ्यो भने थ्री स्टारका खेलाडीको खुट्टामा बल हुँदा उनीहरुको हुने स्वभाविक हो । समर्थकहरु शान्तपूर्ण तरिकाले टिमको समर्थन गरिरहँदा खेल मैदानमा भने निकै नोक झोँक देख्न पाइयो ।

नेपाली टिमबाट सर्वाधिक क्याप जितेका विराज महर्जनको प्रदर्शन समग्रमा राम्रो भए पनि उनको ब्यवहारले भने निराश तुल्याएको छ । उनी पटक पटक थ्री स्टारका खेलाडीसँग झगडा गरे भने रेफ्रीसँग विवाद गरेकै कारण पहेँलो कार्ड पनि देख्न बाध्य भए । यो विवादमा थ्री स्टारका खेलाडी पनि रञ्जित धिमालले पनि विवाद गर्न पछि परेनन् । उनलाई थ्री स्टारका कप्तान विक्रम लामाले सुझबुझ पूर्ण तरिकाले सम्झाए भने मनाङका बिराज मर्हजनलाई पनि सम्झाए पछि खेलले थप उग्ररुप लिन पाएन ।

पेनाल्टी दिन रेफ्री डराएः मेघराज केसी

ए डिभिजन लिगको उद्घाटन खेलमा एनआरटी र त्रिभुवन आर्मी भिडेका थिए । जसको रेफ्री थिए सुदिश पाण्डे थिए । उनले पहिलो खेलमा खेल सकिन केही मिनेट बाँकी रहेका बेला इन्डाइरेक्ट फ्रि किक आर्मीलाई दिएका थिए । जसमा आर्मीले गोल गर्दै गुमाईसकेको अंक २–२ गोलको बराबरीमा ल्याएर एक अंक लिन सफल भएको थियो । उक्त खेल पछि एनआरटीले चर्को दबाब दिए पछि एन्फाले उनलाई १४ म्याचको प्रतिबन्ध लगाएको थियो ।

१४ म्याचको प्रतिबन्ध पछि बिहीबार मनाङ र थ्री स्टारको गेममा उनै सुदिश पाण्डे रेफ्रीको भुमिकामा देखिए । विगतमा पनि विवादित हुँदै आएका पाण्डे थ्री स्टार र मनाङका दुवै प्रशिक्षकले गेम फेयर नभएको बताएका छन् । खेल पछि आयोजित पत्रकार सम्मेलनमा थ्री स्टारका प्रशिक्षक मेघराज केसीले भने, ‘१४ म्याचको प्रतिबन्ध पछि आएकाले रेफ्रीले थ्री स्टारलाई पेनाल्टीे दिन डराए ।’ उनले रेफ्रीका कारण थ्री स्टार पराजित भए पनि मनाङले राम्रो खेलेको भन्दै खुलेरै प्रशंसा व्यक्त गरे ।

यस्तै मनाङका प्रशिक्षक सुमन श्रेष्ठ पनि रेफ्रीको भूमिका प्रति सन्तुष्ट देखिएन् । उनले भने, ‘थ्री स्टारलाई दिएको पेनाल्टी गलत थियो ।’

Post Add 1025X115
Loading...