ए डिभिजन लिगः मनाङकाे अपराजित यात्रा कायमै, थ्रिस्टार २-१ ले पराजित

0

चिरप्रतिद्धन्द्धी थ्रिस्टार क्लवलाई हराउँदै सिग्नेचर मनाङ मस्र्याङदी क्लव सहिद स्मारक ए डिभिजन लिगको शिर्ष स्थानमा उक्लिएको छ । चार बर्षपछि लिगमा थ्रिस्टार विरुद्ध उत्रिएको मनाङले दुई एकको जित निकाल्यो ।

सातदोबाटो स्थित एन्फा मैदानमा जारी खेलको पहिलो हाफमा मनाङका लागि अञ्जन विष्ट र विदेशी खेलाडी आडीलेजेले एक एक गोल गरे । खेलको ११ औं मिनेटमा हेमन गुरुङको पासमा अञ्जन विष्टले भलिमार्फत उत्कृष्ट गोल गरे । त्यसपछि १८ औं मिनेटमा थ्रिस्टारको डिफेन्समा देखिएको कमजोरीको फाइदा उठाउदै मनाङले दोस्रो गोल गर्यो ।

उसका लागि विदेशी खेलाडी आडीजेलेले गोल गरे । चार जना खेलाडी बेन्चमा राख्दा पनि मनाङले थ्रिस्टारलाई दबावमा राख्न सफल भयो । त्यसपछि ३८ औं मिनेटा थ्रिस्टारका रञ्जित धिमालले अञ्जन विष्टको प्रहारलाई बचाउन सफल भए । त्यसको लगत्तै मनाङका विराज महर्जनले डिबक्स नजिकैबाट गरेको प्रहार बाहिरीन पुग्यो ।

दुई गोलले पछि परेको थ्रिस्टारले ५६ औं मिनेटमा पाएको फ्रिकिकलाई सदुपयोग गर्न सकेन । ७४ औं मिनेटमा मनाङका हेमन गुरुङको प्रहारलाई थ्रिस्टारका एलान न्योपानेले बचाए । तर ८२ औं मिनेटमा थ्रिस्टारले पेनाल्टीको अवसर पायो । जसलाई रञ्जित धिमालले गोलमा परिणत गर्दै खेल दुई एकको अवस्थामा पुर्याए ।

खेलको अन्तिममा थ्रिस्टारले मनाङमाथि दबाव दिएपनि गोल फर्काउन सकेन र लिगमा पहिलो हार ब्यहोर्यो । यो जितपछि मनाङ तीन खेलबाट नौ अंकका शिर्ष स्थानमा छ भने थ्रिस्टारको छ अंक छ ।

Post Add 1025X115
Loading...