‘धमिराहरु’लाई तह नलगाई नेपाली खेलकूदको प्रगति हुँदैनः राखेप उपाध्यक्ष पिताम्बर

1

नेप्लेज, २८ कात्तिक । पिताम्बर तिम्सिना दोस्रो कार्यकालका लागि खेलकुद परिषदको उपाध्यक्ष नियुक्त भएका छन् । गएको आइतबार बसेको मन्त्रिपरिषद बैठकले राखेप बोर्ड सदस्यमा नियुक्त गरेका उनलाई राखेप अध्यक्षसमेत रहेका खेलकुद मन्त्रीले उपाध्यक्षमा मनोनित गरेका छन् । २०६६ सालदेखि चार वर्ष खेलकुद परिषदको उपाध्यक्ष रहेका तिम्सिनाले दोस्रो कार्यकालका लागि सपथ लिए लगत्तै पुरानो अनुभव प्रयोग गर्ने, खेलकुदमा गलत प्रबृत्ति रोक्ने र खेलाडीको हकहितमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन् । सदस्य सचिव केशवकुमार विष्टको कार्यकाल सकिन ६ महिनाको अवधि बाँकी रहँदा र आठौं राष्ट्रिय खेलकुद तथा १३औं दक्षिण एशियाली खेलकुदको तयारीमा लाग्नुपर्ने समयमा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले तिम्सिनालाई पदाधिकारीको रुपमा राखेप भित्र्याएका छन् । ६ महिनापछि सदस्य सचिवका लागि पनि तिम्सिना आफै दावेदार पनि हुन् । नवनियुक्त उपाध्यक्ष पिताम्बर तिम्सिनासँग सहकर्मी कुशल तिमल्सिनाले गरेको छोटो कुराकानीः

तपाईंको खेलकुदमा पुनरागमन केका लागि ?

हेर्नुस्, पहिलो कुराः कार्यकारी पदमा नरहे पनि म नेपाली खेलकुदबाट टाढा छैन । मैले नेपाली खेलकुदलाई नाजिकबाट नियालिरहेको छु । हिजो उपाध्यक्ष थिएँ । बीचको केहि समय बिश्राम लिएँ र अहिले फेरि उपाध्यक्षकै रुपमा आएको छु ।

दोस्रो कुराः कार्यकारी पदमा पुनरागमन चाहीँ हिजोको अजुभवलाई संस्थागत गरी नेपाली खेलकुदको दिगो बिकास गर्ने मेरो लक्ष्य हो । सँगै यस क्षेत्रमा रहेका बिकृति बिसंगति हटाएर खेलकुदलाई नयाँ संरचनामा अगाडि लैजानुपर्छ भनेर नै मेरो पुनरागमन भएको हो ।

बिकृति बिसंगति भन्नाले ?

नेपाली खेलकुदमा जताजतै बिकृति बिसंगति छ । मैदानबाहिरको राजनीतिले मैदानभित्र खेलाडीले क्षमताअनुसारको प्रदर्शन गर्न सकेको छैन । खेलकुदको मुख्य समस्याको रुपमा रहेको नाताबाद र कृपाबादको अन्त्य हुनु जरुरी छ । आफ्नो मान्छेलाई च्यापेर प्रतिभावान खेलाडीको करिअर समाप्त पार्ने धमिराहरुलाई तह नलगाइकन नेपाली खेलकुदको बिकास हुन सक्दैन ।

पूर्वाधारमा पनि बिसंगति होला नि ?

पूर्वाधारमा त झन् हामी पछाडि नै छौं । दिगो भौतिक संरचना बनाउन सकिएको छैन । भएका कतिपय खेलमैदान गौचरनमा गरिणत भएका छन् । त्यसको सदुपयोग गर्न सकिएको छैन । हामीसँग अन्तर्राष्ट्रियस्तरको रंगशाला छैन । अन्तर्राष्ट्रिय प्रतियोगितामा निरन्तर खस्कँदै गइरहेका छौं । खेलाडीको क्षमता प्रष्फुटित गर्न पनि पूर्वाधार अनिवार्य हुन्छ । हामीले यो बिसंगति पनि सुधार गर्नेछौं । त्यसका लागि मसँग नयाँ मोडालिटीका रणनीतिहरु पनि छन् । त्यसलाई लागू गर्ने मेरो प्रयास हुनेछ ।

तपाईको नयाँ मोडालिटी कस्तो छ त ?

मुख्य कुरा हामीले आधुनिक र बैज्ञानिक प्रणालीमा खेलकुदलाई लैजान जरुरी छ । त्यहाँ स्तरीय खेलमैदानका कुरा आउँछन्, अध्यास प्रणालीका कुरा आउँछन् अनि खेल क्यालेण्डरका कुरा आउँछन् ।

खेलाडीको क्षमताअनुसारको प्रशिक्षण भएमात्रै स्तरीय नतिजा आउने हो । खेलाडीको डाइटका कुरा, जेनेटिक गुण, उमेर र क्षमता सबै पहिचान गरेर मात्रै त्यसअनुसारको प्रशिक्षण र नतिजाको अपेक्षा गर्न सकिन्छ । त्यस्तै प्रशिक्षणका कुराहरुमा पनि स्तरीय प्रशिक्षकको उत्पादन र नियुक्ति गर्नुपर्छ । खेलकुदमा अगाडि रहेका मुलुकहरुमा खेलाडीका लागि अर्गानिक खाना अनिवार्य भइसक्यो । तर, हाम्रोमा अवस्था दयनीय छ । सिरिन्च हालेको लौकाको झोल खाएको खेलाडीबाट ठूलो प्रदर्शनको आशा गर्न सकिँदैन । यसले नेपाली खेलकुदको बिकास हुँदैन । नयाँ रणनीति र मोडालिटीमा जानैपर्छ ।

तपाईंका यी योजनाहरु सुन्दा आकर्षक लाग्छन् । तर, यसलाई कहिलेसम्म लागू गर्ने सोच्नुभएको छ ?

मुख्य कुरा योजना बनाउनु हो । योजना बनेपछि सुरुआत हुन्छ । म तत्कालै सुरुआत गर्छु । सुरु भएपछि पूरा हुन समय लाग्दैन ।

तर, तपाईं त कार्यकारी पदमा हुनुहुन्न !

हो म कार्यकारी पदमा छैन । तर, कार्यकारी बोर्डमा उपाध्यक्ष छु । मलाई मन्त्रिपरिषदले नियुक्ति दिएको हो । मेरो कुनै काम, कर्तव्य, अधिकार र भूमिका छैन भन्ने कुरा होइन ।

खेलकुद परिषदको बोर्डमा मैले लगेका योजना तथा प्रस्थाव उपयुक्त हुँदा हुँदै फ्यालिने भन्ने हुँदैन । हाम्रो बोर्डले निर्णय गर्ने कुरा हो । बोर्डले निर्णय गरिसकेपछि सदस्यले लगेको उचित प्रस्थाव पनि निर्णय भएर कार्यान्वयनको प्रक्रियामा जानुपर्छ । लोकतन्त्रमा यो आवश्यक पनि छ ।हामी सबैजना मिलेर योजना बनाउनेछौं । अहिले मुलुकमा दुई तिहाईको सरकार छ । त्यही अनुसार खेलकुदमा पनि सरकारलाई सहज हुने व्यक्तित्वहरु कार्यकारी पदमा हुनुहुन्छ । खेलकुदमन्त्री, सदस्य सचिव, म र ओलम्पिक कमिटीका अध्यक्ष सबै एउटै पार्टीका हुनुहुन्छ । यसअघि खेलकुदमा क्वाँटी प्रबृति थियो । एउटा एउटा पार्टीबाट अर्को छुट्टै पार्टीबाट नियुत्त हुन्थे । उनीहरुबीच तालमेल नहुने र समस्या आउने थियो । तर, अब त्यस्तो छैन । हामीले छलफल गरेर निर्णय लिनेछौं ।

एउटै पार्टीका त भन्नुहुन्छ । तर, मन्त्री र सदस्यसचिवबीच नै राम्रो समन्वय छैन भन्ने सुनिन्छ नि ?

उहाँहरुबीच कस्तो सम्बन्ध भन्ने कुराले महत्व राख्दैन । खेलकुदका लागि दुवैजना गम्भीर हुनुहुन्छ र हुनुपर्छ । प्रधानमन्त्रीको संरक्षकत्वमा मन्त्री, सदस्य सचिव लगायतका व्यक्तिहरु हुनुहुन्छ । सरकारको म्याण्डेटअनुसार उहाँहरुले काम गर्ने हो । मिलेर गर्नुभयो भने राम्रो । खेलकुदको स्वार्थमा आफ्नो स्वार्थ मिसाउन खोज्नुभयो भने समस्या हुन्छ ।

अबको ६ महिनापछि सदस्य सचिवको पद रिक्त हुँदैछ । तपाईं पनि आकांक्षी हो ?

स्वभाविक रुपमा हो । खेलकुदमा लागेर निर्णय कार्यान्वयन गर्ने तहमा पुग्ने आकांक्षा कसलार्इ हुँदैन र ?

खेलकुद ऐन परिमार्जनको कुरा आइरहेको छ । त्यसबारे केहि बुझ्नुभएको छ ?

 

खेलकुद ऐन परिमार्जनका लागि तीनवटा प्रस्ताव अहिले मन्त्रालयमा छ । एउटा पुरुषोत्तम पौडेलले आफू मन्त्री हुँदा बनाउनुधएको । अर्को ध्रुवबहादुर प्रधान ओलम्पिक कमिटीको अध्यक्ष हुँदा उहाँको संयोजकत्वमा बनेको समितिले बनाएको र तेस्रो अहिलेका मन्त्रीज्यूले बनाउनुभएको ।

मन्त्रालयले तीनै ऐनका मस्यौदामाथि छलफल गरिरहेको छ र उपयुक्त हुने किसिमले सबैको भावना समेटेर एउटा ऐन संसदमा पेश हुन्छ ।

त्यसमा कुनै उपाध्यक्षलाई कार्यकारी बनाउने, कुनै कार्यकारी निर्देशक संरचनामा जाने र कुनै अहिलेकै प्रणालीलाई निरन्तरता दिने भन्ने कुराहरु आएको छ । ती मध्येबाट एउटा बनाउँदा कस्तो बन्नेछ भन्ने निर्णय भइसकेको छैन । सकेसम्म सबैलाई समेटेर उत्कृष्ट ऐन बन्छ ।

तपाईंको नियुक्ति त अहिलेका सदस्य सचिवलाई ‘चेक एण्ड ब्यालेन्स’ गर्नका लागि भन्छन् नि ?

म कसैका लागि पनि चेक एण्ड ब्यालेन्सको गोटी होइन । सरकारले उसको म्याण्डेट खेलकुदमा लागू गर्न मन्त्रिपरिषदले नियुक्त गरेको व्यक्ति हुँ । मलाई कसैको गोटी बन्नु छैन ।

Post Add 1025X115

You might also like
Loading...
P