किक बक्सिङका माध्यमबाट नेपालको झण्डा विश्व एरिनामा फैलाउँदै मोहन ‘ड्रागन’

0

नेप्लेज । मोहन महर्जन ‘ड्रागन’ । यो नाम नेपाली खेलकुदमा परिचित छैन । चिन्नेले पनि कराते खेलाडीको रुपमा बुझेका छन्, उनलाई । तर, १८ वर्षअघि जापान पुगेपछि भने उनको परिचय फेरिएको छ । जापानमा खेलको माध्यमबाट नेपालको नाम चम्काएका मात्र छैनन्, सफल खेलाडीका रुपमा आफूलाई स्थापित गरेका छन् ।

मार्शल आर्ट जापान कोरिया लगायतका मुलुकमा निकै चर्चित छ । यसका धेरै खेलहरु छनु । ललितपुरको सुनाकोठीमा जन्मिएका कराते खेलाडी ड्रागनले जापान पुगेपछि किक बक्सिङमार्फत आफ्नो खेल करिअरलाई निरन्तरता दिए ।

त्यस्ता ठाउँमा नेपालबाट गएका त्यो पनि उमेर छिप्पिए पछि रिङमा प्रवेश गरेका मोहन ड्रागन अहिले के वान विश्वच्याम्पियनसिपको फाइनल सम्म पुगे । त्यसपछि ४ पटक जापान च्याम्पियन बने । के वान किक बक्सिङको विश्वकप जस्तै हो । विश्वस्तरीय खेलाडीमाझ उनले नेपालको झण्डा फहराउन पाएकोमा निकै गर्व महशुस गर्छन् ।

केही समय पहिला ललितपुर महानगरपालिकाले उनलाई सम्मानका लागि जापानबाट बोलाएको थियो । उनी त्यहाँ गएर पढाई पूरा गरे पछि के वानमा खेल हेर्न गएका बेला आफूलार्ई त्यस खेलमा आकर्षित भए ।

२९ वर्षको उमेर खेलाडीका लागि रिटार्यर्ड हुने समय हो । तर उनलाई उमेरले छेकेन । २९ बर्षको उमेरमा रिङमा प्रवेश गरेका ड्रागन चार पटक जापान च्याम्पियन बने भने ४० वर्षको उमेर उनी किक बक्सिङको विश्व च्याम्पियनसिपमा रजत जिते । उनै ड्रागनसँग बरिष्ठ खेल पत्रकार श्याम चित्रकारले गर्नुभएको कुराकानीः

नेपालमा भव्य स्वागत भयो कस्तो महशुस गर्नुभयो ?

निकै खुसी छु । मैले गरेको कामबाट म सन्तुष्ट छु । जापानमा मात्रै नभई खेलकूदका माध्यमबाट नेपालको नाम संसारभर चिनाउन पाएकोमा म धेरै खुसी छु ।

तपाईको सफलताको श्रेय कस्लाई दिनुहुन्छ ?

म सर्वप्रथम मेरो सफलताको श्रेय जपानवासी नेपालीहरु र मेरो गुरुलाई दिन चाहन्छु । जापानको व्यस्त समयका बाबजुत पनि मेरो गेम भएका बेला नेपालीहरु हलमा आएर मलाई साथ दिनुहुन्छ ।
गेम खेल्नुअघि हतोत्साही भएका बेला साथीहरु आएर हौसला दिनुहुन्छ । उहाँहरुकै प्रेरणाले मैले किक बक्सिङमा नेपालको झण्डा फहराउन पाएको छु । उहाँहरुकै साथ र हौसलाले चार पटक सम्म जापान च्याम्पियन बन्न पुगे ।

नेपालको झण्डालाई सधैं मनमा राखेर म गेम खेल्छु । सानैदेखि झगडा गर्न भनेपछि डराउने मान्छे म सबैको साथ र सहयोगले यो खेलमा अगाडि बढेँ ।

जापानको के वानको रिङमा नेपालको झण्डा फहराउने मेरो ठूलो इच्छा थियो त्यो पूरा भएको छ ।

तपाइ कराते खेलाडी किक बक्सिङमा कसरी लाग्नुभयो ?

ललितपुरको सुनाकोटीमा मेरो जन्म भएको हो । मैले किक बक्सिङ शुरु गरेको जापान गए पछि मात्रै हो । नेपालमा रहँदा धेरै थोरै मात्रामा कराते खेलेको थिए । मेरो घर नजिकै करातेको ब्ल्याक बेल्ट पाएको एक जना खेलाडी रामचन्द्र महर्जन हुनुहुन्थ्यो । उहाँको पछि पछि लागेर अलि अलि सिके । तर, जापानमा गएर तालिम शुरु गरेपछि त यहाँ त केही पनि सिकेको रहिनछु जस्तो लाग्यो ।

जापान किन जानु भयो, खेल्न हो ?

खासमा म जापान पढ्न गएको हुँ । यहाँ जापानी भाषा पढ्दै थिए । हरेक बर्ष जापानीज राजदूतावासले परीक्षा लिने गथ्र्यो । उक्त परीक्षामा टप गर्ने एक जना विद्यार्थीलाई जापान लैजाने व्यवस्था थियो । त्यहाँ लगेर जापानको संस्कृतिका विषयमा सिकाउने गथ्र्यो । यसै अन्तर्गत म सन् २०००मा जापान जान पाएको हुँ ।

पढाई सकाएर किन नफर्के को ?

उतै बसे, विहे पनि जापानीज केटीसँग गरे । मेरो अहिले एउटा छोरी छ । किक बक्सिङको जापानमा ‘के वान’ भन्ने ठूलो प्रतियोगिता हुन्छ । संसारकै खेलाडीहरु आएर उक्त रिङमा प्रतिस्पर्धा गर्छन् । गेम हेर्दा हेर्र्दै मलाई धेरै ठूलो जोस आयो । अनि मैले खेल्न शुरु गरेको ।

तपाई नेपाली हो की जापानी ?

म नेपाली हुँ । मलाई नेपाली भन्नमा गर्व लाग्छ । त्यसैले मैले मेरो गेम जिते भने हरेक पटक नेपालको झण्डा फहराउँछु । संसारकै जुन कुनामा गए पनि म नेपाली हुँ । जापानमा रहेका साथीहरुले जापानीज पिआर लिन आग्रह गर्छन् । म स्पष्टसँग भन्छु ‘मैले यो जन्ममा नेपाल बाहेक अरु कुनै पनि देशको नागरिकता लिन्न’ ।

एक जना खेलाडी जापानको जिवनशैली कस्तो छ ?

जपानमा खेलसँग सँगै काम पनि गर्छु । मेरो धेरै समय ट्रेनिङमै वित्छ । जापानको प्लान्योर भन्ने कम्पनीमा जागिर खान्छु । त्यहाँ मलाई खेल्नका लागि छुटछ । जागिर एकदमै राम्रो छ । ट्रेनिङ गरेर बचेको समयमा मात्र काम गर्न जाने हो । उक्त कम्पनी मेरो गुरुजीको साथीको कम्पनी हो । उक्त कम्पनीकै सहयोगले मैले यो गर्न सकेको हुँ ।

कम्पनीले किन सहयोग गर्यो त ?

मेरो गुरुजीलाई जापानमा ठूलो सम्मान गर्छन् । उहाँकै साथीको उक्त कम्पनी भएकाले पनि उहाँको आग्रहले गर्दा मैले त्यहाँ जागिर पाए र मैले मेरो बचेको समयमा मात्र काम गर्नु पर्छ । मैले मेरो गुरुलाई भगवान जस्तै मान्छु ।

जापान जाँदा खेलाडी बन्छु भन्ने लागेको थियो ?

थिएन, यो त मैले सपनामा पनि सोँचेको थिएन् । पढ्न गएको मान्छे बस्दा बस्दा धेरै ठूलो जोस चल्यो । गेम खेल्ने उमेर थिएन् । २३ बर्षको उमेरमा म जापान गए । त्यहाँ गएको ६ बर्ष पछि मात्रै गेम खेलेको हुँ । हेरौं कहाँसम्म खेल्न सकिन्छ भनेर सुरु गरेको म ४० बर्षको उमेरमा पुग्दा किक बक्सिङ विश्वच्याम्पियनसिपमा दोस्रो भए ।

किक बक्सिङ जापान, चीनमा एकदमै प्रख्यात छ तपाई कसरी सफल हुनुभयो ?

किन बक्सिङ अन्तर्गत जापानमा के वान भन्ने विश्व च्याम्पियनसिप हो । यसमा संसारभरका ठूला ठूला खेलाडीहरु सहभागि हुन्छन् । यसमा खेल्ने सपना देखेको थिए । त्यसै अनुसार मेहनत गर्दै अगाडी बढे । २०११ मा म जापान च्याम्पियन भएको थिए । तर पनि त्यतिबेला मैले खेल्ने मौका पाएन । त्यसपछि पनि मैले निरन्तर किक बक्सिङ खेल्दै गए । त्यसपछि के वान खेल्ने सपना पुरा भयो । त्यसको म उप विजेता भए । एमेच्योर तर्फ ३२ वटा गेम खेलेकोमा २ वटा खेलमा मात्रै पराजित भएको थिए । एमेच्योर पछि म प्रोफेसनल किक बक्सिङमा अघि बढे । ११ नक आउट गेम जितेको छु । मैले जापान च्याम्पियन वातावे दाइकेलाई पहिलो राउण्डमै पराजित गरे । जापान विग ब्यांक च्याम्पियनलगाएतलाई पराजित गरेको छु । मेरो खेल देखेर जापानका मिडिया पनि तर्सिएका छन् । उमेर कटि सकेको मान्छे पनि किक बक्सिङमा यस्तो खेल्छ भनेर ।

पछिल्लो समय जापान नेपालीहरुका लागि आकर्षक ठाउँ मानिन्छ साँच्चिकै राम्रो छ?

जापान मेहनत गर्ने मान्छेलाई स्वर्ग हो । मेहनत नगर्ने मान्छेलाई महा नर्क हो । मेहनत गर्ने नेपालीहरुले जापानमा राम्रो सफलता पाएका छन् । कति त त्यहाँका विश्वविद्यालयहरुमा पढाउने नेपालीहरु पनि छन् । मसँगै गएका साथीहरुले पढाउने काम गर्नुभएको छ ।

भाषाको समस्या कतिको पर्छ ?

भाषा नजानेर जापान जानु भनेको जानी जानी नर्कमा हाम फालेको हो । भाषा नजानेर जापान आएका नेपालीहरुको दुःख हेर्नै नसक्ने खालको हुन्छ ।

अब फेरि रिङमा उत्रनुहुन्छ की ?

अहिले मैले पनि प्रशिक्षण दिन थालेको छु । मेरो गुरुले ४१ बर्षको उमेरमा पनि मेरो उमेर ३१ बर्षका जापानीज खेलाडी जस्तै भनेर भन्ने गर्नुहुन्छ । म रिङमा उत्रने नउत्रने भन्ने विषयमा अहिले केही भन्न मिल्दैन ।

Post Add 1025X115

You might also like
Loading...
P