चीन जाने महिला फुटबल टोलीलाई बिदाई

0

नेप्लेज, ८ कात्तिक । म्यानमारमा आयोजना हुने ओलम्पिकका लागि एशियाली छनोट प्रतियोगिताको तयारीका लागि नेपाली महिला फुटबल टिम शुक्रबार चीन प्रस्थान गर्ने भएको छ ।

नेपाली महिला फुटबल टिमलाई राष्ट्रिय खेलकूद परिषद् राखेपका सदस्य सचिब केशबकुमार विष्टले बिहीबारनै विदाई गरेका छन् ।
नेपालले चीनमा तीन वटा मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गरेर उतैबाट म्यानमार जाने छ । चीन बसाईका क्रममा नेपाली टोलीले अक्टोबर २९ र ३१ तारिखमा बेईजिङ्ग फोनिक्स महिला फुटबल टिमसंग दुई मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ । यस्तै ३० तारिखमा बेईजिङ्ग स्पोर्टस् युनिभर्सिटीसंग मैत्रीपूर्ण खेल खेल्ने छ ।

नेपाली टोलीमा २२ खेलाडी, दुई प्रशिक्षक, एक टोली नेता र एक ब्यवस्थापक रहेका छन् । प्रशिक्षकमा हरि खड्का र मृगेन्द्र प्रसाद मिश्र, टोली नेतामा दिर्घ बहादुर के.सी. र ब्यवस्थापकमा कमला हिराचन थकाली रहेका छन् ।

नेपाली टोलीको समूहमा भारत, म्यानमार र बंगलादेश रहेका छन् । नेपालले ८ नोभेम्बरमा भारतसंग प्रतिस्पर्धा गर्ने प्रशिक्षक खड्काले जानकारी गराए । यस्तै ११ नोभेम्बरमा म्यानमार र १३ नोभेम्बरमा बंगलादेशसंग प्रतिस्पर्धा गर्नेछ । नेपाली टोलीले पहिलो पटक ओलम्पिक छनोट प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।

चीनमा मैत्री फुटबल खेलेपछि नेपाली टोली नोभेम्बर २ तारिखमा उतैबाट म्यानमार प्रस्थान गर्ने छ ।

Post Add 1025X115
Loading...