पदक नआएकोमा खेलाडीलाई दोष दिन्न, कमजोरी हाम्रै होः सदस्यसचिव विष्ट

‘कमजोर प्रदर्शनको जिम्मेबारी म लिन्छु’

0

नेप्लेज, ८ भदौ । नेपालले एशियाली खेलकुदको तयारी सुरु गर्दै गर्दा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले ठोकुवा गरेर भनेका थिए, ‘यसपाली इतिहासकै सर्बाधिक पदक आउँछ ।’ भदौ २ गते इण्डोनेशियाको जाकार्तामा उदघाटन भएसँगै सुरु भएका स्पर्धाहरुमा नेपालको एक पछि अर्को निराशाजनक नतिजा देखियो ।

प्रतियोगितामा एक साताको खेल सकिँदा करिव एक दर्जन खेलमा नेपालले ‘हावा खाइसक्यो’ । पदकको आशा गरिएका खेलहरुमा लगातार पराजयले एशियाली खेलकुदको सेभ द मिसनको रुपमा सदस्य राखेप सदस्य सचिव केशव कुमार विष्ट ‘गलेका’ छन् । उनको बोली परिवर्तन भइसकेको छ । यसअघिको आफ्नै अभिव्यक्तिको बचाउ गर्दै शुक्रबार उनले भनेका छन् कि ‘कुनै पनि सेनापतिले लडाईंमा जाँदा हार्छु भनेर जाँदैन ।’

त्यतिमात्र होइन, एशियाली खेलकुदमा लगातारको पराजयले बल्ल उनलाई लागेछ कि कमजोरी खेलाडीमा होइन, हामीमै रहेछ । खेलाडीको प्रदर्शनको सराहना गर्दै उनले तयारी तथा योजनाको हिसावमा नियमक निकायकै कमजोरी स्वीकारे । यद्यपी पदकको आशा गरिएका केहि खेलहरु अझै बाँकी रहेकाले खाली हात फर्कनु नपर्नेमा उनी आशाबादी छन् । कराते, बक्सिङको महिला इभेण्ट र प्याराग्लाइडिङमा उनले पदकको आशा गरेका छन् ।

इण्डोनेसियाको जाकार्तामा उनले शुक्रबार नेपाली पत्रकारहरुसँगको साक्षात्कारमा नेपालको हारको पूर्ण जिम्मेबारी लिए । एशियाली खेलकुदमा नेपालको प्रदर्शन कमजोर हुनुका कारणहरु सदस्यसचिव विष्टले यसरी प्रष्ट पारे–

कमजोरी हाम्रै हो

हामीले आशा गरेका एक दुई खेलहरुमा पदक पाउन सकेनौं । तर, पनि हामीले त्यस खेलमा कमजोर खेलेका थिएनौं । खेलमा धेरै सुधार भएको छ । पदक भन्ने कुरा एशियाली खेल टप लेभलको खेल भएको तथा विश्व विजेता खेलाडीहरुसँग प्रतिस्पर्धा गर्न पर्ने भएकाले पनि हामीले पदक पाउन सकेनौं । तर, अझै आशा मरेको छैन । पदकका आशा गरिएका अरु खेलहरु सुरु हुँदैछन् । जे भएपनि नेपाली खेलाडीको प्रदर्शनबाट सन्तुष्ट नै छौं ।

हाम्रो तयारी हाम्रा लागि पर्याप्त देखिए पनि पदक ल्याउने खालको तयारी नभएको हामीले महशुस गरेका छौं । तयारी गर्न पनि बजेटको सीमितता हुन्छ । कति बजेट आउछ हामीले त्यही अनुसारको तयारी गर्ने हो । हामीलाई अहिले बजेट अन्त्यन्तै न्यून छ । फेरि एशियाली खेलकुदको तयारीका लागि त विशेष बजेटको आवश्यकता हुन्छ ।

हाम्रा मन्त्रीज्यू पनि यहीँ हुनुहुन्छ, उहाँ आएर अवलोकन गरेर महशुस गरिरहनुभएको छ, वास्तवमा पदक आएन भनेर खेलाडीलाई दोष दिनुको कुनै औचित्य छैन, हाम्रो धेरै कमजोरी छ

हामीले मागेको ८ करोड थियो तर, ५ करोड मात्र पायौं । हामीलाई बैदेशिक प्रशिक्षण, खेल सामाग्रीको पुर्ति, खेलाडी व्यवस्थापन लगायतका कामका लागि पाँच करोड अत्यन्तै न्यून बजेट हो ।

खेलमा राज्यको प्राथमिकता हिजो भन्दा अहिले बढेको छ, तर अझै पर्याप्त चाहीँ होइन । हाम्रा मन्त्रीज्यू पनि यहीँ हुनुहुन्छ, उहाँ आएर अवलोकन गरेर महशुस गरिरहनुभएको छ । वास्तवमा पदक आएन भनेर खेलाडीलाई दोष दिनुको कुनै औचित्य छैन । हाम्रो धेरै कमजोरी छ । हामीलाई सरकारले समयमै बजेट दिनुपर्ने हो, जुन निर्णय गर्नुपर्ने हो, चाहे पूर्वधारमा होस्, चाहे प्रशिक्षण होस्, चाहे खेलसामाग्री हुन्, चाहे खेलाडीलाई दिने सुविधा होस् वा खेलाडीको जीवनको सुनिश्चितता होस् यो सबै कुराहरुमा हामी निकै कमजोर अवस्थामा छौं ।

तयारी त हामीले हाम्रो बजेटको सीमाभित्र रहेर अधिकतम गरेका हौं । तर, त्यो पर्याप्त भएन । अन्य देशको तुलनामा हाम्रो धेरै कमजोर भयो, तयारी नै कमजोर भयो । तर, त्यति तयारीका बाबजुद पनि खेलाडीले जुन प्रदर्शन गरे, त्यो चाहीँ निकै प्रशंसनीय छ ।

मैले जित्छ भन्नुको अर्थ खासमा कुनै पनि सेनापतिले लडाईंमा जाँदा हारिन्छ भनेर जाँदैन, खेलमा प्रतिसपर्धा गर्न जाँदैछ सुरुमै हार्छ भनेर जानुको त के अर्थ ?

लडाईंमा जाँदा सेनापतिले पहिल्यै हार स्वीकार गर्दैन

प्रतियोगिता अघि मैले सर्बाधिक पदक ल्याउने भविश्यवाणी गरेको थिएँ । मेरो अनुमान हाम्रो तयारीलाई हेरेर गरिएको थियो । तर, हाम्रो तयारी अरु देशको तुलनामा कमजोर रहेछ । हामीले बिगतको भन्दा राम्रो गरेकै हो, नेपालको खेलकुद स्तर खस्किएको कुनै पनि होइन । सबै खेलले प्रगति गरेका छन् । तर, अरु देश हामीभन्दा अगाडी गए, हामी जहाँको त्यहीँ जस्तै भयौं ।

मैले जित्छ भन्नुको अर्थ खासमा कुनै पनि सेनापतिले लडाईंमा जाँदा हारिन्छ भनेर जाँदैन । खेलमा प्रतिसपर्धा गर्न जाँदैछ सुरुमै हार्छ भनेर जानुको त के अर्थ ? मैले खेलाडीको मनोवल गिराउनुको सट्टा उनीहरु माथि विश्वास गरेको हो । त्यसमा मेरो एउटा कर्तव्य पनि हो कि जव हामी प्रतिस्पर्धाका लागि मैदानमा जाँदैछौं भने जितिन्छ भन्ने उच्च मनोबलका साथ जानुपर्छ, मैले त्यही कुरा गरेको हुँ । अझै खेल सकिएको छैन । मलाई आशा छ कि हामी पदक ल्याउँछौं ।

अघिल्लो संस्करणमा पदक जितेको खेल करातेमा आशा छ । उहाँहरु जापानमा तयारी गर्नुभएको छ र मैले भेट्दा उहाँहरु उत्साहित हुनुहुन्छ । त्यस्तै बक्सिङमा आशा छ । र, प्याराग्लाइडिङमा आशा छ ।

अब त धेरै ठूलो संकट आउँदैछ, अवको ६ महिना एक वर्षभित्रमा आधाभन्दा बढी नेपाली खेल प्रशिक्षकहरु सेवा निवृत्त हुँदैछन्, नयाँ नियुक्ति गर्न पाइएको छैन, हामीले मन्त्रीज्यूलाई, मन्त्रालयलाई, सरकारलाई भनेका छौं कि दक्ष प्रशिक्षकहरु छिट्टै नियुक्ति गर्नुपर्छ

डेट एक्पाएर प्रशिक्षक अर्को करक

हामीले पटक पटक प्रशिक्षकहरुलाई अपडेट गर्ने प्रयास पनि गरिरहेका छौं । तर, हाम्रा प्रशिक्षकहरु आउटडेटेट भए, धेरै खेलाडीहरु धेरै उमेरका भए । नयाँ प्रशिक्षक भर्ना गर्न हामीलाई अनुमति आएको छैन । हामीले पटक पटक त्यसका लागि माग गर्दा पनि भएको छैन ।

यो मात्र होइन, अब त धेरै ठूलो संकट आउँदैछ, अवको ६ महिना एक वर्षभित्रमा आधाभन्दा बढी नेपाली खेल प्रशिक्षकहरु सेवा निवृत्त हुँदैछन् । नयाँ नियुक्ति गर्न पाइएको छैन । हामीले दुई वर्षदेखि पटियाला प्रशिक्षण गर्न पठाएका छौं । बीचमा केहि समय त्यो क्रम टुटेको थियो । पटियालाबाट प्रशिक्षण गरेर आएका प्रशिक्षकहरुलाई पनि हामीले नियुक्ति गर्न पाएका छैनौं । तर, अहिले हामीले मन्त्रीज्यूलाई, मन्त्रालयलाई, सरकारलाई भनेका छौं कि दक्ष प्रशिक्षकहरु छिट्टै नियुक्ति गर्नुपर्छ । अन्याथा ठूलो खडेरी पर्न सक्छ ।

यतिमात्र होइन, हामीलाई प्रशिक्षक स्थलको पनि अभाव छ । यी सबै अभावका बीचमा हाम्रा खेलाडीले एशियाली खेलकुदमा राम्रो नतिजा निकाल्न प्रयत्न गरेका छन्, गरिरहेका छन् ।

संघले जिम्मेबारी लिए पनि नलिए पनि एशियाडमा नेपालको कमजोर प्रदर्शनको जिम्मेबारी म लिन्छु । संघका पदाधिकारी तथा प्रशिक्षकहरु खेलअघि हामी निश्चित रुपमा जित्छौं भन्छन् । जव खेलमा हारिन्छ अनि उनीहरु नै अरुलाई दोष दिन तयार हुन्छ ।

बैदेशिक प्रशिक्षणको व्यवस्था मिलाउने काम ओलम्पिक कमिटीको हो

वैदेशिक प्रशिक्षणको व्यवस्था मिलाउने काम या त नेपाल ओलम्पिक कमिटीले गर्छ या त सम्बन्धित खेलको संघले गर्छ । अन्तर्राष्ट्रिय सम्बन्ध प्रत्यक्ष रुपमा हाम्रो राखेपको हुँदैन । उनीहरुले पनि त्यो किसिमको सम्बन्ध स्थापित गर्न चाँहदैनन् ।

हामीलाई त नेपाल ओलम्पिक कमिटि र सम्बन्धित खेल संघले भनेको सुझावलाई नकारेका छैनौं । उहाँहरुले जुन देशमा भन्नुभयो जहिले भन्नुभयो हामीले प्रशिक्षणका लागि पठायौं ।

सागको आयोजनाका लागि एशियाडले धेरै कुरा सिकायो

इण्डोनेशिया आएर भौतिक पूर्वाधारको अवस्था हेर्दा त अत्यास लाग्दो छ । यत्रो पूर्वाधार हुँदा हुँदै पनि इण्डोनेशियाले पनि त धेरै स्वर्ण पदक जितेको छैन नि ! पूर्वाधार मात्रै भएर पनि हुँदैन । २ पटक एशियन गेम्स गरिसक्यो ।

हामी मात्रै मेडल नजित्ने देश होइनौं, अरु देश पाकिस्तान, बंगलादेश जस्ता देशहरुले पनि मेडल ल्याएका छैनन् ।

हाम्रो लक्ष्य पदक हो तर, पदक पाउन नसके पनि हामीले राम्रो एक्स्पोजर पाएका छौं । हामीले साफ गेमलाई यो अनुभवको अधिकतम उपयोग गर्नेछौं ।

एशियाली खेलकुद र साग गेम्समा फरक पर्छ । हामीले यहाँ पनि साफका प्रतिद्वन्द्वीसँग खेलेका छौं । हाम्रो यो हेर्दा हामी सागमा कमजोर छैनौं भन्ने पुष्टि हुन्छ । हामीसँग अझै ५–६ महिनाको समय छ । सागलाई नै टार्गेट गरेर हामी एशियाली खेलकुद सकिने बित्तिकै थप प्रशिक्षणमा पनि जानेछौं ।

म के भन्छु भने, अहिलेसम्म पनि साग गेम्सका लागि बजेट आएको छैन । हामी हाम्रो तर्फबाट सबै प्रयास गर्न तयार छौं तर, अहिलेसम्म हामीले बजेट पाएका छैनौं । सरकारले चाँडै बजेट उपलब्ध गरायो भने हाम्रो विशेष तयारी छिटो सुरु हुन्छ । सरकारबाटै ढिला भयो भने हामीलाई ढिला हुन्छ ।

साफ गेम्सको पूर्वाधारको कुरा गर्दा अहिले धमाधम भइरहेको छ । करातेको पूर्वाधार तयार भइसक्यो, तेक्वान्दोको पूर्वाधार तयार हुँदैछ । पोखरका बहुउद्देश्यीय कभर्डहल एक महिना भित्र उद्घाटन हुन्छ । दशैंसम्म दशरथ रंगशालाको ढलान गरिसक्छौं । साफ गेम्सको पूर्वाधारमा समस्या छैन ।

सरकारले अब समयमै बजेट दिनु पर्यो । प्रतियोगिता आयोजनाको लागि औपचारिक बैठकहरुको शुरुआत गर्नु पर्यो । र नेपाल ओलम्पिक कमिटिमा रहेका कतिपय असमझदारीहरु हटाउन पर्यो । तर पूर्वाधारको कारणले साफ गेम्स प्रभावित हुँदैन ।

नेपाल फर्किए लगत्तै एशियाली खेलकूदमा नेपालको प्रदर्शनवारे समिक्षा गर्छौ । र समिक्षाबाट निस्किएको परिणामलाई स्वीकार गर्दै आगामी दिनको तयारी थाल्छौं । अब हाम्रो टार्गेट भनेको साफ गेम्स हो । सम्मानजनक पोजिशनमा नेपाल आउनु पर्छ र हामीले धेरै पदक ल्याउनु पर्छ । विभिन्न च्याम्पियनसिपमा खेलेको नतिजाका कारण नेपालले साफ गेम्समा धेरै मेडल ल्याउँछ ।

तस्वीरः सिताराम कोइराला

Post Add 1025X115
Loading...