नेपालले दाेस्राे अभ्यास खेलमा ब्लुमफिल्डसँग खेल्दै

0

एसिया कप छनोट खेलको तयारीका लागि श्रीलंका पुगेको नेपाली क्रिकेट टोलीले शुक्रबार दोस्रो अभ्यास खेलमा श्रीलंकाको ब्लुमफिल्डसँग  खेल्दैछ । पहिलो खेलमा शानदार प्रदर्शन गरेको नेपाली टोलीले दोस्रो अभ्यास खेलमा पनि सुखद् नतिजा निकाल्ने दाउमा रहेको छ ।

श्रीलंकाको ब्लुमफिल्ड क्रिकेट क्लब पुरानो क्रिकेट क्लब हो । सन् १८९२ मा स्थापना भएको यस क्लबले श्रीलंकाको फस्ट क्लास लिग प्रिमियर ट्रफी ८ पटक जितिसकेको छ ।

श्रीलंकाका लिजेण्ड सनथ जयसूर्या जस्ता खेलाडीले खेलिसकेको यो क्लबले सन् २०१० को सिजन प्रिमियर ट्रफी जितेको थियो । यस क्लब अहिले निपुन करुणानायकेको कप्तानीमा रहेको छ । यस क्लबमा हाल उमेर समूहमा उच्च प्रदर्शन गरेका खेलाडीको बाहुल्यता रहेको छ । युवा खेलाडीको बाहुल्यता रहे पनि यस क्लबका अधिकांस खेलाडीले लिस्ट ए क्रिकेट खेलिसकेका छन् ।

यो टोलीसँग नेपाली टोलीले जित हासिल गर्नु त्यति सहज नभए पनि नेपाली टोलीले धैर्यता गुमाएका छैनन् । पहिलो अभ्यास खेलमा श्रीलंकाको आर्मी क्रिकेट टिममाथि ६७ रनको जित हासिल गरेसँगै नेपाली खेलाडीमा थप उर्जा मिलेको छ । अभ्यास खेलमा जित हासिल गर्नुभन्दा पनि नेपाली टोलीको प्रमुख लक्ष्य भने एसिया कपमा स्थान बनाउनु रहेको छ ।

नेपाली टोलीका लागि एसिया कप खेल्न पाउनु निकै नै ठूलो अवसर पनि हो । एसिया कपको छनोट खेलमा टेष्ट खेल्ने बाहेक उत्कृष्ट ६ एसोसिएट टोलीले मलेसियामा अगष्ट २९ देखि सेप्टेम्वर ६ सम्म खेल्नेछन् । जहाँ ओडिआई मान्यता प्राप्त नेपाल र युएईसहित हङकङ, ओमान, सिंगापुर र आयोजक मलेसियाबीच राउण्ड रोविनमा प्रतिस्पर्धा हुनेछ ।

लिगपछि शीर्ष दुई स्थानमा रहने टिमबीच फाइनल हुनेछ र त्यस खेलको विजेता सेप्टेम्बरमा युएईमा हुने एसिया कपको लागि छनोट हुनेछ । छनोटको विजेताले एसिया कपको समूह चरणमै भारत र पाकिस्तानसँग खेल्ने अबसर समेत प्राप्त गर्नेछन् । नेपाली टोलीमा एसिया कप छनोटको लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा भइसकेको छ ।

जसमा ब्याट्सम्यान विनोद भण्डारी र अलराउण्डर सागर पुनले झण्डै ८ महिनापछि राष्ट्रिय टिममा कमब्याक गरेका छन् । बन्द प्रशिक्षणमा रहेका १९ खेलाडीबाट अन्तिम १५ खेलाडी छनोट गरिएको हो । अगष्ट १ र ३ मा नेदरल्याण्ड्ससँग ओडिआई सिरिज खेलेको टिममा रहेका १५ मध्ये शरद भेषावकर र शक्ति गौचन छनोट खेल्ने टिममा छैनन् ।

शक्तिले सन्यास घोषणा गरिसकेका छन् भने शरद चोटका कारण क्याम्पमै परेका थिएनन् । नेपालले पछिल्लो पटक नेदरल्याण्ड्समा अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेलेको थियो । उक्त खेलमा एक दिवसीय सिरिज बराबरी बनाउन सफल भएको नेपाली टोलीले एसिया कप छनोटको लागि अन्तिम तयारीमा जुटेको हो ।

नेपाली टोलीको बलिङ पक्ष राम्रो रहे पनि ब्याटिङ पक्ष अझै राम्रो हुन सकेको छैन । तर पनि विगतका तुलनामा नेपाली पक्षको ब्याटिङ पक्ष पनि सुधारोन्मुख रहेको छ ।

Post Add 1025X115
Loading...