एशियाली खेलकुदः छैटौं दिन नेपालको प्रदर्शन यस्तो

0

नेप्लेज, ७ भदौ । इण्डोनेसियामा जारी १८औं एशियाली खेलकुद अन्तर्गत छैटौं दिनको खेलसम्म नेपाली खेलाडीको निराशाजनक प्रदर्शन कायमै छ । अहिलेसम्म नेपालले सहभागिता लिएकामध्ये ८ खेलको स्पर्धा सकिएको छ ।

पदकको आशा गरिएका तेक्वान्दो उसु लगायत फुटबल, कुस्ती, पेनकेक सिलात, साइक्लिङ, कवड्डी र शुटिङको स्पर्धा सकिएको छ । ब्याडमिण्टन, आर्चरी, स्पोर्ट क्लाइम्बिङ, फेन्सिङ लगायतका खेलको पनि धेरैजस्तो स्पर्धा सकिएको छ, जहाँ नेपाली खेलाडीको प्रदर्शन कमजोर छ ।

नेपालले पदकको आशा गरेको बाँकी खेलहरु कराते, बक्सिङ, जुडो लगायतको स्पर्धा हुन बाँकी छ । शुक्रबारदेखि बक्सिङ सुरु हुनेछ भने कराते शनिबारदेखि सुरु हुनेछ । प्याराग्लाइडिङको क्रसकन्ट्री स्पर्धा पनि शुक्रबारदेखि सुरु हुनेछ ।

यसअघिजस्तै बिहीबार नेपालले सहभागिता जनाएका स्पर्धामा पनि सकारात्मक नतिजा कम देखियो । ब्याडमिण्टनमा नेपालकी नङशल तामाङले पहिलो चरणमा जित हासिल गरेकी छन् भने पुरुष डवल्समा पनि नेपाल पहिलो खेलमा विजयी भयो । तर, पौडी, भारत्ततोलन, कवड्डी, स्क्वास प्याराग्लाइडिङ, आर्चरी लगायतका खेलमा नेपालले जित हासिल गर्न सकेन ।

नङशल प्रिक्वाटरफाइनलमा

इन्डोनेसियमा जारी १८ औं एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनको महिला सिंगल्समा नेपालकी नङशल तामाङ बिहीबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेकी छन् ।

जीबीके इस्तोरामा भएको खेलमा नङशलले माल्दिभ्सकी खेलाडीलाई २१–१९ र २१–१५ को सोझो सेटमा पराजित गरिन् । महिला सिंगल्सको अर्को खेलमा जेशिका गुरुङ थाइल्यान्डकी खेलाडीसँग २१–७ र २१–५ को सेटमा पराजित भइन् ।

पुरुष डबल्समा पनि नेपालका विकास श्रेष्ठ र नवीन श्रेष्ठको जोडीले मंगोलियाका खेलाडीलाई २१–१२ र २१–७ को सीधा सेटमा हराउँदै प्रि–क्वाटरफाइनलमा पुगे । सोही स्पर्धाको अर्को खेलमा भने पाकिस्तानी जोडीले नेपालका दीपेश धामी र रत्नजित तामाङको जोडीलाई २१–१९ र २२–२० को सोझो सेटमा पन्छाए ।

मिक्स डबल्समा इन्डोनेसियाका खेलाडीले रत्नजित र नङशलको जोडीलाई २१–१३ र २१–२१–७ तथा हङकङले दीपेश धामी र जेशिका गुरुङको जोडीलाई २१–११ र २१–११ को सोझो सेटमा पाखा लगाए ।

महिला डबल्समा थाइल्यान्डका खेलाडीले जेशिका गुरुङ र नङशलको जोडीलाई २१–७ र २१–५ ले निराश पारे । ब्याडमिन्टनमा नेपालले शुक्रबार ५ खेलमा प्रतिस्पर्धा गर्नेछ ।

भारोत्तोलनः विकास १५ औं स्थानमा

भारोत्तोलनको पुरुष ७७ केजीमा नेपालका विकास श्रेष्ठले १५ औं स्थान हासिल गरेका छन् । २० प्रतिस्पर्धाी सहभागी उक्त स्पर्धामा विकासले स्न्याचमा ११३ केजी र क्लिन एन्ड जर्कमा १३५ केजी गरी जम्मा २४८ केजी भार वहन गरे ।

स्न्याचको पहिलो लिफ्टमा ११३ केजी वजन उठाएका १२ औं सागका रजतधारी विकासले दोश्रो र तेश्रो लिफ्टमा समान ११८ केजी उठाउने प्रयास गरेपनि सफल भएनन् । क्लिन एन्ड जर्कको पहिलो लिफ्टमा विकास १३५ केजी भार वहन गर्न असफल रहे । दोश्रो लिफ्टमा बिकासले पहिलो लिफ्टकै जत्ति वजन उचाल्न सफल भएका थिए । तेश्रो लिफ्टमा १३७ केजी उठाउन आएका विकास सफल हुन सकेनन् ।

भारोत्तोलनमा नेपालबाट ४ खेलाडी सहभागी छन् । दुई खेलाडी सन्जु चौधरी र कमलबहादुर अधिकारी राष्ट्रिय कीर्तिमान बनाउन सफल रहे । बाँकी एक खेलाडी तारादेवी पुनले अगष्ट २६ तारिखमा महिला ७५ केजी तौलसमूहमा भाग लिनेछिन् ।

पौडीः १०० मिटर फ्रिस्टाइलमा शिरीष ४०औं

पौडीको पुरुष १ सय मिटर फ्रिस्टाइलमा नेपालका शिरीष गुरुङले ४०औं भएका छन् । यो स्पर्धाको राष्ट्रिय कीर्तिमानधारी शिरीषले निर्धारित दूरी ५७.९२ सेकेन्डमा पूरा गरे । उनको नाममा ५७.६९ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ । उक्त स्पर्धामा ४७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

महिला ५० मिटर ब्रेस्टस्ट्रोकमा टीसा शाक्य सहभागी ३० मध्ये २६औं भइन् । टीसाले निर्धारित दूरी तय गर्न ३९.४६ सेकेन्ड समय खर्चिन् ।

शुक्रबार तीन खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । शुभम् श्रेष्ठले ५० मिटर ब्रेस्टस्ट्रोक तथा गौरिका सिंह र टीसाले ५० मिटर फ्रिस्टाइलमा खेल्नेछन् ।

तेक्वान्दोः नेपाल पदकविहीन

एसियाली खेलकुदमा नेपाललाई सर्वाधिक पदक दिलाएको तेक्वान्दोमा नेपाल पदकविहीन बेनको छ । एसियाडमा नेपालले हालसम्म १ रजत र १३ कांस्य गरी १४ पदक जितेको छ ।

तेक्वान्दोको अन्तिम दिन दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुष ६८ केजीमुनि ज्ञानेन्द्र हमालले पहिलो चरणमा भुटानका जिग्मे वाङछुकलाई ३९–१७ ले पराजित गर्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका थिए । प्रिक्वाटरफाइनलमा ज्ञानेन्द्र मलेसियाका रोजाइमी रोजालीसँग ३०–२ को फराकिलो अन्तरले चुके ।

अर्की खेलाडी अस्मिता खड्का महिला ४९ केजीमुनि इरानकी नाहिद कियानीचान्देहसँग ४३–४ को भारी अन्तरले हारिन् ।

पेनकेक सिलातः विवेक पराजित

पेनकेक सिलातमा नेपालका विवेककुमार विकको चुनौती समाप्त भएको छ । विवेक इरानका मोहम्मद राहिमीबलादेजाइसँग ५–० ले पछि परे । पेनकेक सिलातमा नेपालबाट एक मात्र खेलाडीको सहभागिता छ ।

कबड्डीः नेपाल समूह चरणबाटै बाहिरियो

पुरुष कबड्डीमा २० वर्षपछि सहभागी नेपाल पाकिस्तानसँग पराजित भएको छ । समूह ‘बी’ को लिग खेलमा पाकिस्तानले नेपाललाई ३८–२० ले हरायो । हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले आफ्नो समूहमा एक जित र चार हारको नतिजा निकालेको थियो । नेपाल आयोजक इण्डोनेसिया, जापान, इरान र पाकिस्तानसँग पराजित हुँदा मलेसियालाई हराएको थियो ।

६ राष्ट्र सहभागी यो समूहबाट इरान विजेता र पाकिस्तान उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह ‘ए’ बाट दक्षिण कोरिया विजेता र भारत उपविजेताका रुपमा सेमिफाइनलमा पुगे ।

प्याराग्लाइडिङः एक्यूरेसीमा पदक आएन, अब आशा क्रसकन्ट्रीमा

प्याराग्लाइडिङको पुरुष व्यक्तिगत एकुरेसीमा नेपालका विजय गौतम आठौं भएका छन् । नेपालकै सुशील गुरुङ २४ औं भए । १० चरणको यो स्पर्धामा ३३ खेलाडीले सहभागिता जनाएका थिए । इन्डोनेसिया पहिलो, थाइल्यान्ड दोश्रो तथा दक्षिण कोरिया तेश्रो भए ।

सोही स्पर्धाको महिलामा नेपालकी तृषा श्रेष्ठ बमजन तामाङ १४ औं र प्रतिभा भुजेल १५ औं स्थानमा रहे । १० चरणकै यो इभेन्टमा १८ खेलाडीले भाग लिएका थिए ।

थाइल्यान्डले स्वर्ण, दक्षिण कोरियाले रजत र आयोजक इन्डोनेसियाले कास्य जिते । शुक्रबारबाट क्रस कन्ट्री स्पर्धाका खेलहरु सुरु हुनेछ ।

स्क्वासः अरहान्त र अमृत पराजित

एसियाडमा नेपालले सहभागिता जनाएको २९ खेल मध्ये सबै भन्दा पछि समावेश गरिएको स्क्वासको पुरुष सिंगल्समा अरहान्तकेशर सिंह र अमृत थापा मगर पराजित भएका छन् ।

पाकिस्तानका अस्लम तयबले अरहान्तलाई ११–६, ११–५ र ११–५ तथा हङकङका यि लिन होले अमृतलाई ११–१, ११–४ र ११–२ को सोझो सेटमा पराजित गरे ।

स्पोर्ट क्लाइम्बिङ

पालेम्वाङमा भएको स्पोर्ट क्लाइम्बिङको पुरुष स्पिड्सको नेपाल छनोट चरणबाटै बाहिरिएको छ । नेपालका पेम्बा शेर्पा र प्रणीलमान श्रेष्ठ २७ खेलाडी सहभागी स्पर्धामा क्रमशः २६ औं र २७ औं भए । शीर्ष १६ मा रहने खेलाडी पहिलो चरणबाट छनोट हुने प्रावधान छ ।

पुरुष कम्बाइन छनोट चरण पनि नेपालले पार गर्न सकेन । पेम्बा २२औं र प्रणील २१औं भए । २३ खेलाडी सहभागी यो स्पर्धामा मंगोलिया पुछारमा रह्यो । शुक्रबार नेपालले पुरुष बोल्डरिङको छनोट चरण खेल्नेछ ।

आर्चरीः तिलक प्रिक्वाटरफाइनलमा रोकिए

आर्चरीको पुरुष व्यक्तिगत रिकर्भमा नेपालका तिलक पुन मगर चीनका खेलाडीसँग प्रिक्वाटरफाइनलमा ६–४ ले पराजित भए । त्यसअघि उनले भुटानका खेलाडीलाई ६–० ले हराएका थिए । सोही स्पर्धामा नेपालका रोशन नगरकोटी श्रीलंकाका खेलाडीसँग ६–० ले हारे ।

महिला व्यक्तिगत रिकर्भमा नेपालकी ज्ञानु अवाले हङकङकी खेलाडीसँग ६–२ ले पराजित भइन् । नेपालले शुक्रबार मिक्स टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछ ।

Post Add 1025X115
Loading...