एशियाली खेलकूदको तेस्रो दिनः नेपालको प्रदर्शन यस्तो

0

नेप्लेज, ५ भदाै । इण्डोनेशियामा जारी १८औं एशियाड अन्तर्गत तेस्रो दिनको खेल सकिँदा नेपालको निराशाजनक प्रदर्शन कायमै रह्यो ।

भारत्तोलनमा  सञ्जुकाे तीन नयाँ राष्ट्रिय कीर्तिमान 

भारत्तोलनतर्फ नेपाली खेलाडी सञ्जु चौधरीले तीन नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।

मंगलबार भएको स्पर्धामा महिलाको ५३ केजीमूनि तौलसमूहमा उनले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेकी हुन् । उनले स्न्याच, क्लिन एण्ड जर्क र कुल गरी तीनै स्पर्धामा कीर्तिमान बनाइन् । यद्यपी उनी १२ राष्ट्र सहभागी स्पर्धाको अन्तिममा रहिन् ।

मंगलबार उनले स्न्याचतर्फ ७२ र क्लिन एण्ड जर्कतर्फ ८६ केजी भार बहन गरी कुल १५८ केजीका साथ नयाँ कीर्तिमान बनाएकी हुन् ।

यसअघि गत जेठमा नेपालगञ्जमा भएको एशियाली खेलकुद छनोट प्रतियोगितामा उनले स्न्याचमा ७१ र क्लिन एण्ड जर्कमा ८५ गरी कुल १५६ केजी भार बहन गर्दै कीर्तिमान बनाएकी थिइन् ।

यस स्पर्धामा घरेलु खेलाडी हिडिलिन डियाजले स्वर्ण पदक जितिन् । उनले स्न्याचतर्फ ९२ तथा क्लिन एण्ड जर्कतर्फ ११५ केजी गरी कुल २०७ केजीका साथ पहिलो भएकी हुन् ।

उनीभन्दा एक केजी कम भार बहन गरेकी तुर्कमिनिस्तानकी क्रिष्टिना सेर्मेतोभाले राजत जितिन् । उनले स्न्याचमा ९३ केजी तथा क्लिन एण्ड जर्कमा ११३ केजी भार बहन गरेकी थिइन् ।

थाइल्याण्डकी खाम्बाओ सुरोदचानाले २०१ केजी भारसहित काश्य जितिन् । प्रतियोगिता अन्तर्गत बुधबार कमलबहादुर अधिकारीले प्रतिस्पर्धा गर्नेछन् ।

तेक्वान्दो
ओलम्पियन निशा रावल प्रिक्वाटरफाइनलबाट नै बाहिरीएकी छन् । पदकको आशा गरिएको तेक्वान्दोमा एकपछि अर्को खेलाडी बाहिरिँदा निशा पनि सुरुवाती चरणबाट नै आउट भइन् ।

६७ केजी माथिको तौल समुहमा निशा चीनकी गाओ पानसँग २२–६ को भारी स्कोरले पराजित भइन । पहिलो राउन्डमा तीन एकले पछि परेकी निशा दोस्रो राउन्डमा ६–३ ले पछाडि परिन् ।

तेस्रो तथा अन्तिम राउन्डमा कमब्याक गर्न लाग्दा उनले आफ्नो लय गुमाउन पुगिन । फाइनल राउण्डमा चीनकी खेलाडीले १३–२ अंक बटुलिन । जसका कारण निशा २२–६ ले पराजित भइन ।

महिला ५७ केजी मुनीको गेरोगीतर्फ ज्ञानी चुनारा क्वार्टरफाइनलाम फिलिपिन्सकी पौलिन लोपेजसँग २० – ० अंकले पराजित भईन् ।

यसअघि ज्ञानीले भुटानकी छोदेन किनझांगलाई २८ – ६ अंकले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेकी थिइन् ।

पौडी
पौडीमा शिरीष गुरुङ पुरुष ५० मिटर फ्रिस्टाइलमा हिट चरणबाट बाहिरिएका छन् । शिरीष आफ्नो हिटमा तेस्रो भएपनि दोस्रो चरणमा पुग्न सकेनन् । शिरीषले २६.३३ सेकेन्डमा दूरी पूरा गरेका थिए । ५१ प्रतिस्पर्धी रहेको यो स्पर्धामा शिरीष समग्रमा ४६ औं स्थानमा रहे । अब शिरीषले दुई स्पर्धामा खेल्ने छन् ।

यो स्पर्धामा शिरीषको नाममा २५.४३ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको छ । जुन उनले तुर्कमिनिस्तानको अस्कावादमा भएको एसियन इण्डोर तथा मार्सल आर्टस गेम्समा बनाएका थिए ।

आर्चरी

महिला आर्चरी तर्फको रिकर्भ इभेन्टमा ज्ञानु अवाले पहिलो चरणबाटै बाहिरिएकी छन् । ६६ खेलाडीले सहभागिता जनाएकोमा अवाले ५५औं स्थानमा रहँदै प्रतियोगितबाट बाहिरिएकी हुन् ।

यसैगरि ब्यक्तिगत रिकर्भ तर्फ नेपालका तिलक पुनमगर र रोशन नगरकोटी पनि पहिलो चरणबाटै बाहिरिए ।

७९ खेलाडी सहभागि उक्त प्रतिस्पर्धामा नेपालका मगर ३७औं र नगरकोटी ४०औं स्थानमा रहे ।

थ्री बाई थ्री बास्केटबल

थ्री बाई थ्री बास्केटबलमा नेपाल जापानसँगै सहजै पराजित भएको छ । समूह सीमा रहेको नेपाल जापानसँग २२–११ ले पराजित हूँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

फेन्सिङ

फेन्सिङ तर्फ मेन्स फोएल एकलमा नेपालका दुवै खेलाडी प्रतियोगितबाट बाहिरिएका छन् । समूह डीमा रहेका महेश प्रसाद भट्ट भियतनाम र चीनसँग पराजित भएका हुन् । यसैगरी समूह र्इमा रहेका सञ्जीब लामा कतार, जापान, कोरिया, मलेसिया र इण्डोनेशियाका खेलाडीसँग पराजित भएका थिए ।

कवड्डीमा लगातार दोस्रो हार

कबड्डी अन्तर्गत समूह बी मा नेपाल जापानसँग ३१–२८को स्कोरमा पराजित भयो । नेपालको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा नेपाल आयोजक इण्डोनेशियासँग हारेको थियो ।

प्याराग्लाइडिङमा पनि खराव प्रदर्शन

प्याराग्लाइडिङको पुरुष इण्डिभिज्युअल एक्युरेसीमा नेपाली खेलाडीको प्रदर्शन निराशाजनक रह्यो । दोस्रो चरणको खेल सकिँदा तेस्रो स्थानमा रहेका नेपाली खेलाडी विजय गौतम मंगलबार पाँचौं चरणसम्मको खेलमा १४औं स्थानमा पुगेका छन् । अर्का खेलाडी सुशील गुरुङ २५औं स्थानमा छन् । पुरुष टिम एक्यूरेसीमा नेपाल आठौं स्थानमा छ ।

महिला इण्डिभिज्युअल एक्युरेसीतर्फ पनि नेपाली खेलाडीको प्रदर्शन कमजोर रह्यो । पाँचौं चरणको खेल सकिँदा नेपालकी त्रिशा श्रेष्ठ १०औं स्थानमा छिन् भने प्रतिभा भुजेल १६औं स्थानमा छिन् । महिलाको टिम एक्युरेसीमा नेपाल सातौं स्थानमा छ ।

पदक तालिका थप हेर्न यहाँ क्लिक गर्नुहाेस

 

Post Add 1025X115
Loading...