काठमाडौं म्याराथनको १२औं संस्करण असोजमा

स्पोर्टस स्क्स्पो पनि आयोजना हुने

0

नेप्लेज, ४ भदौ । अन्तर्राष्ट्रियस्तरको काठमाडौं म्याराथन आगामी असोज २० गते आयोजना हुने भएको छ । प्रतियोगिताको यो १२औं संस्करण हो ।

प्रोस्पोर्टस प्रालि र इभेन्ट सोलुसन प्रालिको आयोजना हुने म्याराथनसँगै यस वर्ष स्र्पोटस फेयर पनि आयोजना हुने भएको छ । काठमाडौंको दशरथ रंगशालामा असोज १८ देखि २० गतेसम्म स्पोर्टस फेयर आयोजना हुनेछ ।

काठामाडौं म्याराथनमा महिला र पुरुष गरी सात बिधा समावेश गरिएको छ । फुल म्याराथन, हाफ म्याराथन, कर्पोरेट रिले म्याराथन, पाँच किलोमिटर खुल्ला, पाँच किलोमिटर भेट्रान, पाँच किलोमिटर स्कुल तथा तीन किलोमिटर ह्वीलचियर रेस समावेश गरिएको छ ।

सबै बिधाका शीर्ष तीन स्थानमा रहनेले नगद पुरस्कार पाउनेछन् । म्याराथनतर्फ उपाधि विजेताले १ लाख, उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार पुरस्कार पाउनेछन् । त्यस्तै हाफ म्याराथनको शीर्ष तीन स्थानमा रहनेले क्रमसः ५०, २५ र १० हजार पुरस्कार पाउनेछन् भने कर्पोरेट रिले म्याराथनमा पनि शीर्ष तीन स्थानमा रहनेले क्रमसः २५, १० र ५ हजार पुरस्कार पाउनेछन् ।

त्यस्तै ४५ वर्ष उमेर माथिकाले मात्र प्रतिस्पर्धा गर्न पाउने पाँच किलोमिटर मास्र्टस, स्कुल र ह्वीलचियर रेसमा शीर्ष तीन स्थानमा रहनेले क्रमसः १०, ५ र २ हजार पुरस्कार पाउनेछन् ।

त्यस्तै काठमाडौं म्याराथनको कीर्तिमान तोड्ने घावकलाई नगद १ लाख पुरस्कारको व्यवस्था गरिएको मुख्य आयोजक निलेन्द्रराज श्रेष्ठले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिताको १०औं संस्करणमा भूमीराज राईले २ घण्टा २१ मिनेट २४ सेकेण्डको टाइमिङ निकालेका थिए ।

स्पोर्टस फेयरमा ७२ स्टल

म्याराथन आयोजनाको समयमा दरथ रंगशालामा स्पोर्टस एक्स्पोको आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्यसका लागि रंगशालामा ७२ स्टल रहनेछन् ।

त्यहाँ खेलकुदसँग सम्बन्धित व्यक्ति तथा संस्थाले आफ्नो प्रमोसनका गतिविधि गर्न पाउनेछन् । स्टलका लागि ५० हजार भाडा तोकिएको आयोजकले जनाएको छ ।

एक्स्पोका क्रममा खेलकुद सामाग्रीको प्रदर्शनी, सेमिनार तथा कार्यशाला गोष्ठी, बिजनेश टू बिजनेश मिटिङ, बिजनेस टू कन्जुमर मिटिङ, फिटनेससम्बन्धी जानकारी, वाटर फुटबल र स्पोर्टस फेसनको प्रदर्शनी समावेश गरिनेछ ।

Post Add 1025X115
Loading...