ओलम्पियन रोकायाको गुनासोः पार्टीको खेलाडी भएको भए मेरो उपचार विदेशमा हुन्थ्यो

0

नेप्लेज, २५ साउन । हरिबहादुर रोकाया । विश्व कीर्तिमानी एथ्लेटिक्स खेलाडी, ओलम्पियन । जीवनको उर्जाशील समय पूर्ण रुपमा खेलकुदमा लगाए, जुम्लाजस्तो बिकटमा बसेर स्तरीय खेलाडी उत्पादतमा अनवरत लागिरहे ।

खेल र खेलाडी भनेपछि उनी न परिवार न खानापिना, सबै बिर्सेर अघि बढ्छन्, यो उनको पुरानै बानी हो । त्यसैले त बिदेशका थुप्रै अवसरहरुलाई लत्याउँदै कर्णाली प्रदेशको बिकट जुम्लामा बसेर देशको सेवामा लागे । उनी राष्ट्रिय खेलकुद परिषदका एथ्लेटिक्स प्रशिक्षक हुन् ।

जुम्लामा उनी करिव २ दर्जन धावकहरुलाई नियमित प्रशिक्षण गराउँछन्, यसरी खेलाडी उत्पादनको प्रयास सुरु गरेको पनि २२ वर्ष भइसक्यो । यसबीचमा उनले दर्जनौं खेलाडी उत्पादन गरेका छन्, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा उनीहरुले पदक पनि जितिसकेका छन् ।

समय सधैं एकनास हुँदैन । ५७ वर्षको उमेरमा १६ वर्षे युवाजस्तो जोश पनि हुँदैन । नियमित प्रशिक्षणकै क्रममा गएको जेठ ३२ गतेदेखि उनले असहज महशुस गरे । सामान्य भनेर उनले ख्याल गरेनन् । तर, त्यसको दुई दिनपछि उनी प्रशिक्षण गराउनै नसक्ने भए । हात खुट्टा नै नचल्ने भयो । शरीरको अरु अंग स्वभाविक रहँदा पनि हात खुट्टा चल्न चाडेपछि उनी थला परे । तत्कालै काठमाडौं ल्याएर बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरियो । सबै परीक्षण गर्दा भित्रि समस्या केहि नदेखेपछि उपचारमा संग्लग्न चिकित्सक निश्कर्षमा पुगे, ‘शारीरिक कमजोरीकै कारण यस्तो भएको हो ।’

त्यही अनुसारको औषधि चलाइयो, पाँच दिन आईसीयूमा बसेपछि उनी चल्नसक्ने भए । एक सातापछि हिड्नसक्ने भए । फिजियोथेरापी नियमित चलिरहेको छ । डाक्टरले ३ महिनासम्म औषधिका साथै फिजियोथेरापी गर्नुपर्छ भनेका छन् । उपचार सुरु गरेको करिव ५० दिनपछि उनी आफैं खाना खानसक्ने भएका छन् ।

भक्तपुरको लोकन्थलीस्थित छोराको निवासमा आराम गरिरहेका प्रशिक्षक रोकायालाई हामीले भेट्टा उनी मुस्किलसँग आफ्नै हातले खाना खाइरहेका थिए । हामीले कसरी यस्तो भएको भनेर सोध्दा रोकायको जवाफ थियो, ‘नखाएर’

उनी आफ्ना खेलाडीलाई आफैंले डाइट बनाएर खुवाउँछन्, खेलाडीका लागि डाइट प्लान बनाउँछन् । तर, उनकै लागि भने डाइटको कुनैपनि प्लान हुन्थेन । चिया धेरै खाने, खाना समयमा नखाने गरेरै आफूलाई यस्तो भएको उनले बल्ल बुझे । ‘साथीभाइहरु आउँछन्, चिया खाउँ भन्छन् । खान्न भन्दा ठूलो मान्छे भएजस्तो हुने ! त्यसरी खाँदा यस्तो हालत भो ।’ रोकायले आफ्नो पीडा सुनाए ।

चार पटक दक्षिण एशियाली खेलकुद (एक पदक), दुई दुई पटक एशियाली खेलकुद र ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका उनी गम्भीर बिमारी भएर उपचारमा रहँदा खेलकुदका सरोकावाला निकायले अपनत्व लिएन । उनलाई अहिले सबैभन्दा धेरै चित्त दुखेको यहीँनेर हो ।

सामान्य उपचार नै गराउन नसक्ने त छैन रोकायको परिवार । तर, उनले खोजेको अभिभावकत्व हो, आत्मसम्मान हो र भरथेग मात्र हो । तर, त्यो पनि पाएनन् । ‘मैले राष्ट्रका लागि यति धेरै खेलेँ विश्वसामू नेपालको नाम चिनाएँ, अहिले पनि अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरिरहेको छु, रिजल्टले मेरो मिहिनेत देखिएकै छ । तर, सबै चिन्ने भनेको आफू कमजोर हुँदा रहेछ ।’ रोकायको दुखेसो छ ।

अस्पतालबाट डिस्चार्ज भएको १ महिनापछि १ लाख दिएर सदस्यसचिव विष्ट निवासमा पुगे । हामी छौं भनेर फर्किए । तर, रोकायले पैसा मागेका होइनन् । ‘म अस्पतालमा हुँदा हामी छौं भनेर उहाँ आउनुभएको भए मेरा लागि त्यो करोड हुन्थ्यो, लाख चाहिन्थेल मलाई ।’

परिषदले उनलाई तत्कालका लागि भनेर १ लाख उपलब्ध गराएको छ । कर्णाली प्रदेश सरकारले पनि १ लाख र उनकै नगरपालिका चन्दननाथले ५० हजार रुपैयाँ दिएको छ । साढे २ लाख उनको उपचारको एक छेउ पनि भएको छैन । तर, उनी उपचारै गर्नका लागि कसैसँग हात फैलाउने पक्षमा छैन । ‘मैले आफ्नो खुट्टा फैलाएर (दौडिएर) देशको नाम विश्वमा चिनाएँ, मैले अब उपचारका लागि सहयोग माग्दै हिडेँ भने मेरा खेलाडीहरुले के–का लागि खेल्ने ?’ रोकायाको प्रतिप्रश्न छ ।

बिदेशको खेलकुद अस्पतालमै उपचार गर्न पाएको भए अझै राम्रो हुने थियो भन्ने उनलाई लागेको छ । तर, त्यसका लागि कसले पहल गरिदिने ? ‘नेता र उसको मान्छे भएको भए हाच्छ्यूँ आउँदा पनि बिदेशमा उपचार गर्न राज्यको ढुकुटी लिएर जाने परिपाटी छ, तर, मजस्ता खेलाडीलाई कसको के मतलव ।’

‘मलाई के विश्वास छ भने म कुनै पार्टीको खेलाडी थिएँ भने अहिले मेरो उपचार विदेशका सुविधासम्पन्न अस्पतालमा हुन्थ्यो । र, म छिट्टै निको पनि भइसक्थे । तर, म त राष्ट्रको झण्डा बोकेर हिड्ने खेलाडी, मलाई हेर्ने फुर्सद कसलाई छ र ?’ प्रशिक्षक रोकायाको पीडामिश्रित आक्रोश हो यो ।

नेपालमा पनि खेलकुद अस्पताल अनिवार्य भइसकेको प्रशिक्षक रोकायाको अनुभव छ । हुन त खेलकुद परिषदले खेलकुद अस्पतालको अवधारणा नल्याएको होइन तर, त्यो कागजमै सीमित भएको छ ।

‘राम्रो खेलकुद अस्पताल भएको भए खेलाडीहरुले सुरक्षित महशुस गर्ने थिए ।’ रोकायाले भने, ‘तर, त्यहाँ दक्ष डाक्टरहरु राख्नुपर्यो, आफ्ना मान्छे भर्ती गर्ने केन्द्रको बनाउन मात्र अस्पताल खोल्ने हो भने त्यसको कुनै काम छैन ।’

रोकायले जुम्लामा बसेर खेलाडी उत्पादन थालेको २०५२ सालदेखि हो । त्यसयता थुप्रै स्तरीय खेलाडीहरु उत्पादन भएका छन् । बिभागीय टोलीहरुमा उनैले खेलाडी सप्लाइ गर्छन् । विश्वरुपा बुढा, दुर्गाबहादुर बुढा, सुनमाया बुढा, बिष्णु बुढा, सिता न्यौपाने, नरेश बुढा, अमृता भण्डारी, मन्ञु रावत लगायतका खेलाडीहरु अहिले धेरैजसो बिभागीय टोलीमा रहेर खेलजीवनमा सक्रिय छन् ।

बिमारी भएर काठमाडौंमा थलिँदा पनि उनीको मन ध्यान जुम्लामै छ । खेलाडीले के गरे, के खाए, कसरी प्रशिक्षण गरिरहेका छन् भन्ने चिन्ता उत्तिकै छ । हरेक दिन फोनबाट उनी ‘ट्रेनिङ प्लान सुनाउँछन्’, खेलाडीले त्यसै अनुसार गर्छन् । जुम्लाको कर्णाली स्पोर्ट्स क्लवमार्फत दुई दर्जनभन्दा बढी खेलाडीलाई उनले अहिले पनि आसन्न आठौं राष्ट्रिय खेलकुदका लागि तयार बनाउँदैछन् ।

Post Add 1025X115
Loading...