पाँचपोखरी हाफ म्याराथन भदौ १० गते

0

नेप्लेज, २५ साउन । पाँचपोखरी हाफ म्याराथनको दोस्रो संस्करण आगामी भदौ १० गते आयोजना हुने भएको छ ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजनामा हुन लागेको हाफ म्याराथनका लागि समुद्री सतहदेखि ४ हजार १०० मिटर उचाईमा रहेको पाँचपोखरीदेखि १७०० मिटर उचाईमा रहेको रैथानेश्वरी मन्दिरसम्मको २४ किलोमिटर दूरीको रुट निर्धारण गरिएको छ ।

पाँचपोखरीदेखि सुरु भएर नासिम, ताखु, दुकाङ, यार्सा हुँदा रैथाने मैदानमा आएर दौड सकिनेछ । दौडमा नाम दर्ताका लागि गाउँपालिकाका सबै वडाहरु तथा काठमाडौंको बौद्धस्थित सम्पर्क कार्यलय र फेसबुक पेजमार्फत पनि प्रक्रिया सुरु गर्न सकिने शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगितामा सहभागिताका लागि सिन्धुपाल्चोकका धावकका लागि २५००, जिल्लाबाहिरका धावकका लागि ५ हजार र बिदेशी धावकका लागि ७५ अमेरिकी डलर निर्धारण गरिएको छ ।

प्रतियोगिता पुरुष र महिला दुवै स्पर्धामा गराइनेछ । महिला र पुरुष दुवैतर्फ हाफ म्याराथन विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको अघिल्लो संस्करणमा ८५ जना धावकले सहभागिता जनाएकोमा यसपटक यो संख्या दोब्बर हुने आयोजकले जानकारी दिएको छ ।

Post Add 1025X115
Loading...