अवसर गुमाउँदा किन टाउकोमा हात राख्छन् फुटबलर ?

0

फुटबल खेलमा गोल गर्नेको खुसी त रमाइलो नै हुन्छ । अवसर नपाउँदा गोल गर्न चुक्नेको भावभंगी ठीक विपरीत हुन्छ । जब गोल गर्न सक्दैन त धेरैले एकै प्रकारको हाउभाउ देखाउँछन्, त्यो हो हात उठाउँदै टाउकोमा राख्ने । 

यसपालिको विश्वकपमा पनि यस्ता दृश्य धैरै देखिए ।  बारम्बार अवसरमा हरेक देशबाट खेल्ने खेलाडीले यस्तो संकेत गरे । अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसीदेखि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोसम्म । फाइनल पुगेका फ्रान्स र क्रोएसिया नै किन नहोस्, ती टोलीका खेलाडीले पनि अवसर चुकाउँदा यस्तै प्रतिक्रिया दिन भ्याए । जीवविज्ञ र मनोविज्ञहरूका अनुसार यस्तो ‘पोज’ दिनुमा फुटबलसँग कुनै सम्बन्ध नभएर मनोविज्ञानसँग जोडिएको छ ।

ब्रिटिस कोलम्बिया विश्वविद्यालयकी मनोवैज्ञानिक प्राध्यापक जेसिका ट्रेसीका अनुसार यो प्रतिक्रियाले ‘मैले गल्ती गरेको छु’ भन्ने संकेत दिन्छ । उनका अनुसार यस स्थितिमा छँदा अन्य मानिसले ‘मैले गल्ती स्वीकारें र मलाई माफी देऊ । मलाई यो गल्तीका कारण दोषी नठहर्‍याउ’ भन्ने बुझ्छन् ।

यस्तो प्रतिक्रिया दिनेमा प्रहार गर्ने खेलाडी स्वयं मात्र संलग्न छैनन् । अहिलेसम्म नै विश्वकपमा सबैभन्दा धेरै हेरिएको गल्तीमा सन् २०१० मा नाइजेरियाका याकुबु आइएगबेनीको गल्ती हेर्नुपर्छ । याकुबुले पोस्टभन्दा १० फिटपरबाट खाली पोस्टमा गरेको प्रहार गोलमा परिणत हुन सकेन । उक्त प्रहारपछि याकुबु डेग चलेनन् तर उनका एक सहकर्मी र प्रशिक्षकले भने एकै समयमा उक्त संकेत प्रदर्शन गरे ।

सन् १९८१ मा जीवविज्ञ डेसमन्ड मोरिसले गरेको ‘द सकर ट्राइब’ नामक अध्ययनले १२ खेलाडीले देखाएको प्रतिक्रियाको विश्लेषण सामेल थियो । उनले त्यतिबेला यो प्रतिक्रिया आफूलाई आराम दिन गरिने बताएका थिए । उनका अनुसार कुनै गल्ती गरेपछि कसैले ठीक छ भन्ने विश्वास दिलाउन सहयोग गर्दियोस् भन्ने चाहना हुन्छ तर ठीक त्यहाँ अन्य कोही उपलब्ध नहुँदा आफैंले आफैंलाई टाउको हात राखेर चित्त बुझाउने गरेका हुन्छन् । मानवबाहेकका केही पशुमा पनि यो देखिन्छ ।

सन् २००८ मा ट्रेसीले आफ्नो समकक्षी डेविड माट्सुमोटोसँग मिलेर फरक अध्ययन गरिन् । त्यसबेला पारालिम्पिकमा जन्मजात दृष्टिविहिन खेलाडीमा गरेको अध्ययनले पनि यस्तो प्रतिक्रिया विश्वव्यापी र प्राकृतिक रुपमा बाहिर आउने बताए । ‘यदि हात टाउकोमा छ भने त्यो लाज हो,’ ट्रेसीले भनिन्, ‘शरीरको हलचल र खेलाडीको हातको स्थिति हेर्दा खेलाडीले आफूलाई सानो देखाउन खोजेको भान हुन्छ । यो नै लाज देखाउने प्रचलित हाउभाउ हो ।’

खेलाडीले गल्ती गरेको स्वयं खेलाडीबाहेक अरुले राम्ररी बुझ्न सक्दैनन् । अमेरिकाको राष्ट्रिय टोलीबाट खेलेर हाल टेलिभिजन विश्लेषकको भूमिकामा देखिएका कोबी जोन्सका अनुसार खेलाडीले गल्ती गर्दा अपत्यारिलो र निकै लज्जास्पद भावना हुन्छ । ‘हामीले हरेक दिन र हरेक समय प्रशिक्षण गर्ने भनेकै बललाई गोलपोस्ट भित्र छिराउन हो,’ उनले भने, ‘अवसर जतिबेला पनि सामान्य हुन्छ । गल्ती गर्ने भन्ने विकल्प नै हुन्न ।’

यो संकेत विपक्षी गोलरक्षकले पक्काजस्तो देखिएको गोललाई उत्कृष्ट ढंगले बचाउँदा पनि देख्न सकिन्छ । यसको राम्रो उदाहरण सन् २००६ को विश्वकप फाइनलको अतिरिक्त समयको अन्तिम मिनेटमा देखियो । फ्रान्सका जिनेदिन जिदानको हेडर गोलपोस्टतर्फ जाँदा इटालीका जियानलुइजी बुफोनले औंलाको छेउले बललाई क्रसबार कटाइदिए । उक्त गोल भएको भए फ्रान्सको जित पक्का थियो । त्यसको नतिजास्वरुप जिदानले आफ्नो कपाल नभएको टाउकोमा हातले समाते ।

बल प्रहार गर्नेको गल्तीले होस् या गोलरक्षकले गरेको उत्कृष्ट बचाउ, असफल खेलाडीको प्रतिक्रिया त्यही नै हुन्छ । ‘तथ्यांक हेर्दा पनि सत्य त्यही देखिन्छ,’ बेलायती फुटबलका इतिहासकार डेविड गोल्डब्लाटले भनेका छन्, ‘खेलाडीले अवसर गुमाउँदा होस् या गोलरक्षकले विफल तुल्याउँदा होस् । जुन प्रक्रियाले तपाई त्यो स्थितिमा पुग्नुहुन्छ, त्यो यहाँ न त्यहाँको हुन्छ । ’

समर्थकबारे भने फर्लीले खेलाडीको व्यवहार र हाउभाउले उनीहरूलाई असर पर्ने हुनाले यस्तो प्रतिक्रियाले समर्थकले पनि खेलाडीको अवस्था बुझ्ने निष्कर्ष निकाले । कारण जे भए पनि यो प्रतिक्रियाको सम्भावना एकदम प्रबल रहन्छ । ‘यो कमेडियनले कुनै प्रहसनमा जोक भनेजस्तै हो,’ उनले थपे, ‘मानिसहरू चुटकला पूरा नहुँदै हाँस्न थाल्छन् । धेरै कमेडी यसरी नै चलेका हुन्छन् ।’

न्युयोर्क टाइम्समा डेविड गेन्डेलम्यानको लेखबाट अनुबादित

Post Add 1025X115
Loading...