कोलम्बियालाई पेनाल्टीमा हराउँदै इंग्ल्याण्ड विश्वकपको क्वार्टरफाइनलमा

0

नेप्लेज, २० असार । कोलम्बियालाई पेनाल्टी शुटआउटमा ४-३ गोलअन्तरले पराजित गर्दै सन् १९६६ को च्याम्पियन इंग्ल्याण्ड जारी विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

रुसको स्पार्टाक एरिनामा निर्धारित र अतिरिक्त समयमा दुवै टोलीले एक एक गोलको बराबरी खेलेपछि पेनाल्टी शुटआउटबाट नतिजा छिनोफानो गरिएको थियो ।

पेनाल्टीमा इंग्ल्याण्डका एक खेलाडी चुक्दा कोलम्बियाका दुई खेलाडीको पेनाल्टी गोल हुन सकेन । कोलम्बियाका आन्द्रेस युरिवको पेनाल्टी क्रसबारमा लागेको थियो भने कार्लोस बाक्काको प्रहार इंग्लिस गोलकिपर जोर्डन पिकफोर्डले बचाएका थिए ।

कोलम्बियाका कप्तान रामाडेल फाल्काओ, लुइस मुरियल र जुहान कार्डाडोले गोल गरेका थिए भने इंग्ल्याण्डका कप्तान ह्यारी केन, मार्कोस राशफोर्ड, केरन ट्रिपियर र इरिक डायरले गोल गरेका थिए । जोर्डन हेण्डरसनको प्रहार आर्सनलका कोलम्बियाली गोलरक्षक डेभिड रामिरेजले बचाएका थिए ।

इंग्ल्याण्डले विश्वकपमा पेनाल्टी शुटआउटबाट खेलन जितेको इतिहासमै यो पहिलो पटक हो ।

यसअघि विवादास्पद पेनाल्टीमा ह्यारी केनले गोल गरेपछि इंग्ल्याण्डले १-० को अग्रता लिएको थियो । कोलम्बियाली डिफेण्डर कार्लोस सान्चेसले डिबक्सभित्र इंग्लिस कप्तान केनलाई फल गरेपछि इंग्ल्याण्डले खेलको ५७औं मिनेटमा पेनाल्टीको अवसर पाएको थियो ।

तर, निर्णयमा आपत्ती जनाउँदे कोलम्बियाली खेलाडीले लामो समयसम्म रेफ्रीसमक्ष अपील गरेका थिए । यद्यपी, रेफ्रीले निर्णय परिवर्तन गरेनन् ।

खेल करिव करिव इंग्ल्याण्डको पक्षमा गइसकेको थियो, इंग्लिस समर्थकले खुसियाली मनाउन सुर गरिसकेका थिए । नियमित पनि ५ मिनेट थपिएको इन्ज्यूरी समयको तेस्रो मिनेटमा जुहान कुआड्रार्डोको कर्नरमा स्टार डिफेण्डर यारी मिनाले गोल गरी खेलमा शनशनीपूर्ण बराबरी गरे । कोलम्बियाका लागि मिनाले पछिल्लो तीन खेलमा लगातार गोल गरिरहेका छन् ।

इंगल्याण्डले कोलम्बियालाई केहि दवावमा राखे पनि पहिलो हाफमा गोल गर्न असमर्थ भएको थियो । विश्वकपमा इंग्ल्याण्डले इन्ज्यूरी समयमा गोल खाएर खेलको नतिजामा असर परेको यो दोस्रो पटक हो । यसअघि सन् २००६ मा पनि स्वीडेनले इन्ज्यूरी समयमा गोल फर्काएको थियो ।

इंग्ल्याण्डले विश्वकपमा सन् १९९० यता तेस्रो पटक नकआउट खेल जितेको हो ।

विश्वकपमा केनको छैटौं गोल

इंग्लिस कप्तान ह्यारी केनले जारी विश्वकपमा आफ्नो गोलसंख्या ६ पुर्याएका छन् । ५७औं मिनेटमा पेनाल्टीमा गोल गरेका केन विश्वकपमा गोल्डेन बुटको दावेदारितामा शीर्ष स्थानमा छन् । बेल्जियन स्ट्राइकर रोमेलु लुकाकु ४ गोलका साथ उनलाई पछ्याइरहेका छन् ।

यसअघि समूह चरणका दुई खेलमा केनले ४ गोल गरेका थिए । ट्युनिशियाबिरुद्धको २-१ गोलको जितमा दुवै गोल गरेका केनले पानामाबिरुद्धको ६-१ गोलको जितमा दुई पेनाल्टी गोलसहित ह्याट्रिक गरेका थिए ।

बेल्जियम बिरुद्धको समूहको तेस्रो खेलमा भने उनलाई आराम दिइएको थियो । ३ खेलमा ६ गोल गरेका केनले ३ गोल पेनाल्टीमा गरेका हुन् ।

केन लगातार ६ अन्तर्राष्ट्रिय खेलमा गोल गर्ने दोश्रो इंग्लिस खेलाडी बनेका छन् । यसअघि टोमी लटनले सन् १९३९ मा पनि यस्ते कीर्तिमान राखेका थिए ।

Post Add 1025X115
Loading...