नाटकीय खेलमा बेल्जियमको जित, क्वार्टरफाइनलमा ब्राजिलसँग खेल्ने

0

नेप्लेज, १९ असार । दुई शून्यले पछि परेको स्थितिलाई उल्टाउँदै बेल्जियम रुसमा जारी २१औं संस्करणको विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

अन्तिम १६ अन्तर्गतको खेलमा एशियाली प्रतिस्पर्धी जापानलाई बेल्जियमले ३-२ गोलले हराउँदै दुई गोल उसका सब्सिच्युड खेलाडीले गरे ।

रोस्तोभ एरिनामा भएको खेलमा कुनै समय बेल्जियमले आफ्नो पकड गुमाइसकेको थियो । तर, उसले शानदार पुनरागमन गर्न सफल भयो । खेलमा पाँचै गोल दोस्रो हाफमा सम्भव भयो ।

विश्वकपको नकआउट चरणमा दुई शून्यले पछि परेको स्थितिलाई उल्टाउँदै खेल जित्ने बेल्जियम दोस्रो टोली बनेको छ । यसअघि सन् १९७० मा पश्चिम जर्मनीले इंग्ल्याण्डबिरुद्ध यस्तै नतिजा निकालेको थियो ।

क्वार्टरफाइनल चरणमा बेल्जियमले पाँच पटकको च्याम्पियन ब्राजिलसँग खेल्नेछ । आजै भएको खेलमा मेक्सिकोलाई २-० ले हराउँदै ब्राजिल क्वार्टरफाइनलमा पुगेको हो ।

विश्वकपमा सहभागी टोलीमध्ये सबैभन्दा महंगो (खेलाडीको मूल्यका आधारमा) टोली बेल्जियम पहिलो हाफमा भने प्रभावकारी बन्न सकेन । यद्यपी उसले जापानलाई दवावमा राखेको थियो । उसका लागि स्टार स्ट्राइकर रोमेलु लुकाकुले दुई सुनदर मौका खेर फालेका थिए ।

तर, दोस्रो हाफको सुरुमै बेल्जियमले २ गोल खान पुग्यो । ४८औं मिनेटमा गाको सिवाशाकीको उत्कृष्ट पासमा गेन्को हारागुचीले वान भर्सेस वानमा गोल गरे ।

त्यसको चार मिनेटपछि नै उपाधिको दावेदारमध्येको एक बेल्जियमबिरद्ध जापानले दोहोरो अग्रता बनायो । सिञ्जी कागावाको पासमा ताकासी इनुइले करिव २५ यार्डबाट प्रहार गरेको शट बेल्जियन किपर थियागो कोट्वालाई चक्मा दिँदै गोलमा परिणत भएको थियो ।

तर, बेल्जियम खेलमा फर्कियो । ६९औं मिनेटमा जान भर्टोनघानले पेनाल्टी एरियाको दायाँपट्टीबाट गरेको हेडर आकर्षक गोलमा परिणत भएको थियो ।

७४औं मिनेटमा बेल्जियमले बराबरी गोल फर्कायो । ६५औं मिनेटमा ड्राइज मार्टिन्सलाई प्रतिस्थापन गरेका मोरुन फेलिनीले हेडमार्फत गोल गरे ।

बराबरीतर्फ उन्मुख खेलको अन्तिम मिनेटमा बेल्जियमका सब्सिच्युड स्टइकर नासीर चाड्लीले पेनाल्टी एरियाबाट क्लोज रेञ्ज शट प्रहार गरी खेलको नाटकीय अन्त्य गरे । यही गोलले बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा पुग्यो । उनी यान्निक कारास्कोको स्थानमा ६५औं मिनेतमा मैदान छिरेका थिए ।

विश्वकपमा  प्रिक्वार्टरफाइनल चरणका अन्तिम दुई खेलहरु हुँदैछन् । जसमा स्वीट्जरल्याण्ड र स्वीडेन तथा इंग्ल्याण्ड र कोलम्बिया आमने सामने हुनेछन् ।

Post Add 1025X115
Loading...