ब्राजिल लगातार सातौंपल्ट विश्वकपको क्वार्टरफाइनलमा

0

नेप्लेज, १८ असार । मेक्सिकोलाई २-० गोलअन्तरमा पराजित गर्दै पाँच पटकको विश्व विजेता ब्राजिल लगातार सातौंपल्ट विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

रुसको सामारा एरिनामा मध्य तथा उत्तर अमेरिकी प्रतिस्पर्धी मेक्सिकोलाई हराउने क्रममा उसका सुपरस्टार नेइमारले गोल गरे । नेइमारले जारी विश्वकपमा दोस्रो गोल गरेका हुन् भने समग्रमा यो उनको छैटौं गोल हो ।

नेइमारले खेलको ५१औं मिनेटमा विलियनको क्रसमा गोल गरेका हुन् । मेक्सिकन किपर ओचाओ विट भइसकेको अवस्थामा विश्वकै सबैभन्दा महंगा फुटबलर नेइमारले गोललाइन नजिकैबाट बललाई जाली चुमाएका हुन् ।

खेलको नियमित समय सकिनु २ मिनेटअघि लिभरपुलका फरवार्ड रोवर्टो फिर्मिन्होले नेइमारको क्रसमा गोल गरे । ८६औं मिनेटमा फिलिप काउटिन्होलाई प्रतिस्थापन गरेका फिर्मिन्होले मैदान छिरेको दुई मिनेटमै गोल गरेका हुन् ।

यसअघि पहिलो हाफमा भने मेक्सिकोले ब्राजिललाई गोल गर्न रोकेको थियो । मेक्सिकोका जाभियर हर्नाण्डेज, लुजानो लगायतले केहि अवसर पाए पनि गोल गर्न सकेनन् ।

ब्राजिलले अहिलेसम्म मध्य तथा उत्तर अमेरिकी टोलीसँग विश्वकपमा हार्नुपरेको छैन । जुन उसले यस खेलमा पनि निरन्तरता दियो । ब्राजिल लगातार सातौं पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो ।

यसअघि सन् १९९० को विश्वकपमा अन्तिम १६ बाट बाहिरिएको ब्राजिल त्यसयताका हरेक प्रतियोगितामा कम्तिमा क्वार्टरफाइनलमा पुगेको छ भने सन् १९९४ र २००२ मा च्याम्पियन नै बनेको छ ।

यता मेक्सिकोका लागि भने चौथो खेलको दुर्भाग्य फेरि कायमै रह्यो । सन् १९९४ को विश्वकपयता मेक्सिकोले विश्वकपको आफ्नो चौथो खेलमा पराजय ब्यहोर्दै आएको छ । समूहचरणको तीन खेलपछि उसले नकआउट चरणको पहिलो खेलमै पराजित भएको यो लगातार सातौं पटक हो ।

छैटौं पटक विश्व च्याम्पियन बन्ने अभियानमा रहेको ब्राजिलले सेमिफाइनल प्रवेशका लागि बेल्जियम र जापानबीच आजै केहिबेरमा हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

Post Add 1025X115
Loading...