स्वीडेन र स्वीट्जरल्याण्ड तथा कोलम्बिया र इंग्ल्याण्ड भिड्दै

0

नेप्लेज, १९ असार । रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबल अन्तर्गत प्रि–क्वार्टरफाइनलका अन्तिम खेल मंगलबार हुँदैछन् । सोमबारसम्म ६ टोली क्वार्टरफाइनलसम्म पुगिसकेका छन् भने सोमबार हुने खेलबाट थप दुई टोलीले क्वार्टरफाइनल स्थान सुरक्षित गरेसँगै क्वार्टरफाइनल समिकरण पनि पुरा हुने छ ।

आज हुने पहिलो खेलमा स्वीडेनले स्वीट्जरल्याण्डसँग प्रतिस्पर्धा गर्ने छ । नेपाली समयअनुसार पौने ८ बजे सेन्टपिटरवर्ग स्टेडियममा खेल हुनेछ । समूह चरण अन्तर्गत पहिलो खेलमा स्वीडेनले दक्षिण कोरियाविरुद्ध १–० को जित, दोस्रो खेलमा जर्मनीविरुद्ध २–१ को पराजय र तेस्रो खेलमा मेक्सिकोसँग ३–० को जित हात पार्दै समूह एफ को विजेताका रुपमा क्वार्टरफाइनलको यात्रा तय गरेको थियो ।

युरोप छनोटको पहिलो चरणबाट विश्व कपमा स्थान बनाउन नसकेपछि ‘प्लेअफ’मा चार पटकको विश्व विजेता इटालीलाई १–० ले हराएर स्वीडेनले १२ वर्षपछि विश्व कपमा स्थान बनाएको हो । स्विडेनका लागि यो विश्व कप १२ औं सहभागिता हो ।
यसअघि उसले १९३४, १९३८, १९५०, १९५८, १९७०, १९७४, १९७८, १९९०, १९९४, २००२ र २००६ मा सहभागिता जनाएको थियो ।
स्वीडेने विश्वकपमा १२ पटक स्थान बनाएको भए पनि १९५८ मा उप विजेता बन्नु बाहेक उल्लेख्य प्रगति गर्न सकेको छैन ।
यता स्वीटजरल्याण्डले भने समूह चरणको पहिलो खेलमा ब्राजिलसँग १–१ को बराबरी, दोस्रो खेलमा सर्वियामाथि २–१ को जित र तेस्रो खेलमा कोष्टारिकासँग बराबरी खेल्दै समूह इ को उपविजेताको रुपमा क्वार्टरफाइनल प्रवेश गर्दै स्वीडेनसँगको खेल सुनिश्चित गरेको हो ।

युरोप छनोटको ‘प्लेअफ’ मार्फत स्वीटजरल्याण्डले यो विश्व कपमा स्थान बनाएको हो । ‘प्लेअफ’ मा उत्तरी आयरल्यान्डलाई १–० ले पराजित गर्दै स्विट्जरल्यान्ड लगातार चौथो पटक विश्व कपमा छनोट भएको हो । ११ औं पटक विश्वकप खेलिरहेकोे स्वीट्जरल्याण्डले १९३४, १९३८ र १९५४ मा क्वार्टरफाइनल सम्म स्थान बनाएको थियो ।
उसले त्यो भन्दा अघिल्लो चरण पार गर्न सकेको छैन । यो विश्वकपमा स्वीडेनलाई पराजित गर्दै अघिल्लो चरणमा स्थान बनाउने दाउमा देखिएको छ ।

पाैने १२ बजे कोलम्बिया र इंग्ल्याण्ड भिड्ने

त्यस्तै, आजै राति पौन १२ बजे हुने खेलमा कोलम्बिया र इंग्ल्याण्ड आमने सामने हुनेछन् । यो खेल पनि निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । समूह चरणको पहिलो खेलमा जापानसँग २–१ को पराजय व्यहोरेको कोलम्बियाले दोस्रो खेलमा भने पोल्याण्डसँग ३–० को शानदार जित हात पारेको थियो । त्यस्तै तेस्रो खेलमा १–० को जित हात पार्दै समूह ‘एच’को विजेताका रुपमा प्रिक्वार्टर फाइनलमा प्रवेश गरेको हो ।
दक्षिण अमेरिकी छनोटमा चौथो स्थान हात पार्दै रुसको टिकट काटेको कोलम्बिया, विश्व कपमा छैटौं पटक सहभागी भएको हो । जारी प्रतियोगितामा पहिलो चरणबाट समूक विजेता भएर प्रिक्वार्टरफाइनल प्रवेश गरेका भएपछि उसले पनि अहिलेसम्म उपाधि चुम्न सकेको छैन । सन् २०१४ को विश्वकपमा कोलम्बियाले क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो ।
यता, इंग्ल्याण्ड भने समूह ‘जी’को उपविजेताका रुपमा प्री क्वार्टरफाइनलमा प्रवेश गरेको हो । उसले समूह चरणको पहिलो खेलमा ट्युनिसियासँग २–१ को जित हात पारेको थियो भने दोस्रो खेलमा पानामासँग ६–१ को शानदार जित हात पारेको थियो । त्यस्तै, तेस्रो खेलमा बेल्जियमसँग १–० गोल अन्तरले पराजित भएको थियो ।
१५ औं पटक विश्व कपमा सहभागी इंग्ल्यान्ड फुटबलको जननी मानिन्छ । युरोप छनोट अन्तर्गत समूह ‘एफ’ को शीर्ष स्थानमा रहँदै रुस पुगेको इंग्ल्यान्ड सन १९८२ देखि लगातार विश्व कप खेलिरहेको छ । सन १९५० मा पहिलो पटक विश्व कप खेलेको इंग्ल्यान्ड १९६६ को विश्व विजेता टोली हो । यो खेलमा कोलम्बियाविरुद्ध इंग्ल्याण्ड हाबी हुने देखिएको छ । तर पनि बलिया र शक्तिशाली राष्ट्रले समूह चरण र प्रिक्वार्टरफाइनलका खेलबाटै बाहिरिएको हुँदा खेल कस्को पक्षमा रहन्छ यसै भन्न सकिने अवस्था भने देखिँदैन । क्वार्टरफाइनलका खेल भने शुक्रबारबाट शुरु हुनेछन् । पहिलो दिन शुक्रबार उरुग्वे र फ्रान्स बीचको खेल हुनेछ ।

Post Add 1025X115
Loading...