विश्वकप विजेताले पाउँदैनन् सक्कली ट्रफी

0

नेप्लेज, ३१ असार । करिव ९० वर्षको इतिहासमा अहिलेसम्म २० संस्करणको विश्वकप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । जसमा दक्षिण अमेरिकी मुलुकले ९ र युरोपेली मुलुकले ११ पटक विश्वकप जितेका छन् ।

तपाईंहरुलाई सुन्दा अचम्म लाग्न सक्छ कि विश्वकप विजेताले सक्कली ट्रफी अहिले पाउँदैनन् । सन् १९३० मा उरुग्वेमा पहिलो पटक विश्वकप आयोजना भएको हो । विश्व विजेताले पाउने सुनौलो चम्किलो ट्रफी दुई पटक चोरी भएको छ ।

पहिलो पटक सन् १९६६ मा चोरी भएको ट्रफी कुकुरको सहायताले भेटिए पनि दोसा्रे पटक सन् १९८३ मा हराएको ट्रफी अहिलेसम्म भेटिएको छैन ।

तीन पटक विश्वकप जितेपछि सन् १९७० मा ब्राजिललाई हस्तान्तरण गरिएको त्यस ट्रफी ब्राजिल फुटबल संघको कार्यालयबाटै चोरी भएको हो । ब्राजिलको अनुसन्धान नियोगले ट्रफी चोरीका आरोपीहरुलाई पक्राउ गरी अनुसन्धान गर्दा थाहा भयो कि उनीहरुले अर्जेन्टिनी माफियासँग मिलेर ट्रफी पगालिसकेका थिए र नष्ट गरिसकेका थिए । विश्वकपको ट्रफीसँगै कार्यालयबाट त्यतिबेला अरु दुई ट्रफी चोरी भएको थियो ।

त्यतिबेलाको ट्रफी अहिलेको जस्तो ठूलो र आकर्षक थिएन । जुलेस रेमिट नाम दिइएको त्यस ट्रफी सन् १९३० देखि १९७० सम्मका विजेताले पाएका थिए । उनीहरुले सक्कली ट्रफी लिएरै घर फर्किएका थिए । १९७० मा ३ पटक विश्वकप जितेपछि त्यो ट्रफी ब्राजिलले ‘पच’ बनायो ।

जुलेस रेमिट ट्रफी ३५ सेन्टिमिटर अग्लो र ३.८ किलो तौलको थियो । र त्यसमा पूरै २४ क्यारेट सुनको प्रयोग गरिएको थियो ।

ब्राजिललाई हस्तान्तरण गरिएपछि विश्वकपको नयाँ ट्रफी बनाउनुपर्ने भयो । फिफाले सन् १९७१ मा नयाँ ट्रफि बनाउने निर्णय गर्यो । त्यसअघिका उपाधि विजेता मुलुकको सहमतिमा सिलिया गाजानियाले विश्वकप ट्रफी बनाउने जिम्मा पाए ।

जिम्मेबारी पछि उनले विश्वलाई नै समेट्ने र खेलाडीको भावनाको प्रतिनिधित्व हुने गरी मुख्य थिम बनाए । ट्रफी जितेपछि खुई खेलाडीले हातमा लिएर खुसीयाली मनाएको चित्र तयार पारे । यसले खेलाडीले पूरै विश्व आफ्नो हातमा उचालेको संकेट दिन्छ । पृथ्वीको चित्रले सबै महादेशको प्रतिनिधित्वको संकेत गर्छ ।

हरेक संस्करणमा परिमार्जन गर्दै लगिएको ट्रफी १९९० सम्म पुग्दा तल्लो भागमा फुटबल खेलिने हरियो मैदानको प्रतिनिधित्व गर्दै दुई हरीयो रिङ राखिएको छ । ट्रफिको मुनी विजेता देशको नाम लेखिन्छ । जुन देशले विश्वकप जितेको छ त्यो देशको भाषामा नाम लेखिन्छ । हुन त अहिलेको ट्रफिमा विजेताको नाम सन् २०३८ को विश्वकप पछि नअट्ने भन्दै अहिलेदेखि नै के गर्ने भन्ने चर्चा चलिसकेको छ ।

अहिलेको ट्रफी ३६ दशलमव पाँच सेन्टिमिटर अग्लो र ६.१७ किलो तौलको यो ट्रफीमा ४.९२७ किलो १८ क्यारेटको सुन प्रयोग गरिएको छ ।

सक्कली ट्रफी पाउँदैनन् विजेताले

सन् १९८३ मा ब्राजिल फुटबल संघको कार्यालयबाटै ट्रफी चोरी भएर बेपत्ता भएपछि यसको सुरक्षा चिन्ता निक्कै बढ्यो । यद्यपी सन् २००२ सम्म सक्कली ट्रफी नै दिइएको थियो ।

सुरक्षा जोखिम बढेपछि सन् २००६ को जर्मन विश्वकप पछि भने विजेतालाई फाइनलको दिनमा मात्रै सक्कली ट्रफी दिने र घर फर्किने बेलामा ‘रिप्लिका’ दिने गरेको छ ।

सक्कली ट्रफीलाई फिफाले जुरीचस्थित आफ्नो संग्रालयमा राख्ने गरेको छ । विश्वकपको आयोजक देशको घोषणा समारोह र विश्वकपको फाइनलमा मात्र सक्कली ट्रफी सार्वजनिक गरिन्छ । यस्तै विश्वकप ट्रफी टूरका बेलमा विशेष सुरक्षा र विशेष विमानमा ट्रफीलाई विश्व घुमाइन्छ ।

Post Add 1025X115
Loading...