को हुन् मणि शाह ? कसरी पाए ‘नेपाली म्याराडोना’को उपमा ? (भिडिओ)

0 42


नेप्लेज, ३१ बैशाख । ५१ वर्षको उमेरमा सोमबार साँझ नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्युवरण गरेका मणि शाह नेपाली फुटबलले पाएको अहिलेसम्मकै उत्कृष्ट प्लेमेकर हुन् ।

बुबा लक्ष्मण बिक्रम साह पनि फुटबलर र प्रशिक्षक भएकै नाताले सानैदेखि फुटबलमा होमिएका मणिसँग बल ड्रिबिङ, पेनाल्टी एरियाबाट फिनिसिङका लागि माहिर र विपक्षीलाई कन्ट्रोलमा राख्न सक्ने खुबीको प्रशंशा अहिले पनि हुने गर्छ । सायद त्यसैले होला उनलाई समकालीन महान अर्जेन्टिनी खेलाडी डिएगो म्याराडोनासँग तुलना गरिएको थियो ।

काठमाडौं ठमेलका मणिले सानैदेखि फुटबलको माहोल पाए । उनलाई गढ गिफ्टेट प्लेयर पनि किन भनिन्छ भने सीमित श्रोत र साधन भएको मुलुकबाट फुटबल खेलेर उनले आफूलाई एशियाली स्तरको फुटबलरको रुपमा उभ्याएका थिए ।

फुटबल बिश्लेषक सञ्जीव मिश्र मणि शाहलाई दक्षिण एशियाली भन्दा उपल्लो दर्जाको खेलाडीको रुपमा मान्छन् । ‘उनी नेपालले पाएको अहिलेसम्मकै शानदार फुटबलर हुन् । मैदानभित्र उनी जसरी खेल्थे त्यस्तो खेल अहिलेसम्म मैले अरु नेपाली फुटबलरमा देखेको छैन ।’ मिश्रले नेप्लेजसँग भने ।

नेपालले १९८१ मा फिफा र एएफसीको सदस्यता पाएपछि अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउन थालेको हो । सन् १९८३ मा थाइल्याण्डको बैंककमा भएको यू–१३ प्रिन्सेस कपमा नेपाली राष्ट्रिय टोलीबाट उनले प्रतिनिधित्व गरेका हुन् । उनी त्यस टिममा पर्नुको कहानी पनि रोचक नै छ ।

बी डिभिजन लिगमा थ्रीस्टार र ठमेल–११ क्लवबीचको खेलमा झगडा गरेपछि उनलाई प्रतिबन्ध लगाइएको थियो । त्यतिबेला शाह घरेलु टोली ठमेल–११ बाट खेल्थे । तर, उनको बहुमुखी प्रतिभा चिनेर फुटबल संघले उनको प्रतिबन्ध फुकुवा गरी प्रिन्सेस कप खेल्न पठाएको थियो । जहाँ नेपाली टोली उपविजेता बन्यो र ८ गोल गरेका शाह सर्बाधिक गोलकर्ता बने ।

१९८३ मा थाइल्याण्डको बैंककमा भएको यू–१३ प्रिन्सेस कपमा राष्ट्रिय टोलीबाट पर्नुअघि मणि शाहले १३ वर्षको उमेरमै ठमेल–११ क्लवबाट बी डिभिजन लिग खेलेका थिए ।

प्रिन्सेस कप खेलेर फर्किएपछि उनी मनाङ मर्स्याङदी क्लवमा आबद्ध भए । थ्रीस्टारसँगको झगडामा ठमेल–११ प्रतिबन्धमा परेपछि खोलिएको मनाङले डी, सी, बी जितेर ए डिभिजनमा आएको पहिलो सिजनमै च्याम्पियन बनाउन शाहको योगदान उल्लेख्य थियो ।

त्यसको २ वर्षपछि नै शाहले १७ वर्षको उमेरमा नेपाली राष्ट्रिय टोलीमा परेका हुन् ।

सन् १९९३ को साग गेम्स अन्तर्गत फुटबलमा गरेको प्रदर्शनले उनलाई राष्ट्रिय हिरो बनाइदियो । समूह चरणमा घरेलु टोली बंगलादेश र फाइनलमा भारतलाई पेनाल्टीमा हराउँदा मणि शाहको योगदान उल्लेख्य थियो । फाइनलमा भारतबिरुद्ध अन्तिम सेकेण्डमा बराबरी गोल र पेनाल्टीमा अविश्मरणीय ५–४ को जित निकाल्दा मणि शाह नेपाली हिरो बनेका थिए ।

उनले सन् १९९८ को बैंकक एशियाडमा नेपालको झण्डा बोक्ने सौभाग्य पाएका थिए । फुटबलबाट एशियाली खेलकुदमा झण्डा बोक्ने उनी एक्ला हुन् ।

मिडफिल्ड र स्ट्राइकर दुवै पोजिसनमा फिट हुने उनलाई प्रशिक्षकले आवश्यकता अनुसार खेलाउँथे ।

‘म्याराडोनाको’ किस्सा

सन् १९८६ मा अर्जेन्टिनाले म्याराडोनाकै प्रेरणामा विश्वकप उचाल्नुभन्दा १ वर्षअघि १७ वर्षको उमेरमै राष्ट्रिय टोलीमा स्थान बनाइसकेका थिए शाहले । अर्जेन्टिनालाई विश्वकप जिताएपछि संसारभर म्याराडोनाको समर्थक ह्वात्तै बढेको थियो ।

त्यस समयमा नेपालमा भर्खरै टेलिभिजनको सुरुआत भएको थियो र नेपाली जनताले पहिलो पटक विश्वकप टेलिभिजनमा हेरेका थिए । यस्तोमा मणि पनि म्याराडोनाबाट प्रभावित भए, फलस्वरुप झ्याप्प परेको घुम्रिएको कपालले उनलाई म्याराडोनाजस्तै हुलिया दियो ।

समर्थकलाई के चाहियो र, घरेलु फुटबलका सनसनी शाहलाई सबैले नेपाली म्याराडोनाको उपमा दिन थाले ।

यतिले मात्रै उनी नेपाली म्याराडोना भएका हुन् त ? फुटबल विश्लेषक मिश्र भन्छन्, ‘होइन ।’

‘म्याराडोना र शाहबीच अरु पनि समानता थियो । त्यो हो मैदान भित्र र बाहिरको ब्यबहार ।’ मिश्रले भने, ‘मणिको खेल शैली म्याराडोनाकै जस्तो थियो, उनको ड्रिबल र फिनिसिङ म्याराडोनासँग मिल्थ्यो, सँगै मैदान भित्र÷बाहिर उनी उस्तै हक्की स्वभावका थिए जस्तो म्याराडोनाले गर्थे ।’

यससँगै मणि र म्याराडोनाको उचाई, पोजिसन समान थियो ।

 

 

You might also like
Loading...