१५औं एभरेष्ट म्याराथनको तयारी पूरा

0 7

नेप्लेज, २ जेठ । पहिलो पटक सगरमाथा आरोहण भएको मे २९ का दिन आयोजना हुने तेन्जिङ–हिलारी एभरेष्ट म्याराथनको १५औं संस्करणको तयारी पूरा भएको छ ।

म्याराथनका लागि स्वदेशी तथा बिदेशी धावकहरु बिहीबार सगरमाथा आधार शिविर प्रस्थान गर्ने आयोजक हिमालय एक्स्पिडिसनले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

म्याराथनमा मुख्य तीन स्पर्धा समावेश गरिएको छ । ६० किलोमिटरको अल्ट्रा दौड, फुल म्याराथन र हाफ म्याराथन गरी तीन बिधामा धावकहरुले सहभागिता जनाउनेछन् ।

यस वर्ष पुरस्कार राशी दुई गुणा बृद्धि गरिएको छ । जसअनुसार फुल म्याराथनको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

यस्तै महिलातर्फ विजेताले १ लाख, उपविजेताले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । कुनै महिलाले खुल्लातर्फ जित हासिल गरेमा महिलातर्फको उपाधि पनि स्वतः उनैलाई हुने आयोजकले जानकारी दिएको छ ।

फुल म्याराथनमा बिदेशी धावकका विजेताले ५० हजार, उपविजेताले ३५ हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

त्यस्तै ६० किलोमिटरको अल्ट्रा दौडका विजेताले १ लाख, उपविजेताले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने हाफ म्याराथनको विजेताले ५० हजार, उपविजेताले ३५ हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । दुवै बिधामा खुल्ला स्पर्धामात्र समावेश गरिएको छ ।

म्याराथनमा ३० देशका १४० सहित २ सयभन्दा बढी धावकहरुको सहभागिता रहने आयोजक हिमालय एक्स्पिडिसनले जानकारी दिएको छ । बिदेशीमा सबैभन्दा धेरै अमेरिकाबाट ३० जना धावकहरुको सहभागिता छ ।

अल्ट्रा दौड सगरमाथा आधार शिविरबाट सुरु भएर नाला हुँदै नाम्चेबजारमा सम्पन्न हुनेछ भने फुल म्याराथनको आधार शिविरबाट सुरु भएर नाम्चेबजारमा आएर समापन हुनेछ । हाफ म्याराथन भने दिङबोचेबाट सुरु भएर नाम्चेबजारमा सम्पन्न हुनेछ ।

तस्वीर साभारः एभरेष्टम्याराथन डट कम

You might also like
Loading...