आईटीएफ यू–१२ टेनिसको दक्षिण एशियाली छनोटमा भारत च्याम्पियन

0

नेप्लेज, १४ बैशाख । आईटीएफ एसिया यू–१२ टिम टेनिस च्याम्पियनसिपअन्तर्गत दक्षिण एसियाली क्षेत्रको छनोटमा भारत च्याम्पियन बनेको छ ।

शुक्रबार भएको फाइनलमा ब्वाइज र गर्ल्स दुवैमा च्याम्पियन बनेको भारतले दुवै समूहमा नेपाललाई नै समान २–० को नतिजामा पराजित ग¥यो ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलको सिंगल्समा भारतका हर्ष फोगाटले नेपालका अकी जुवेन रावतलाई ७–५ र ६–१ तथा भारतका वंश नन्दलले आरभसम्राट हाडालाई ६–४ र ६–२ को सोझो सेटमा हराए ।

अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको गर्ल्स फाइनलको सिंगल्समा भारतकी दुर्गान्सीले नेपालकी अजा रेग्मीलाई ६–० र ६–० को सीधा सेटमा पाखा लगाइन् । अर्को सिंगल्समा भारतकी अन्जली राथी प्रतिद्वन्द्वी नेपालकी शुभाङ्गीलक्ष्मी शाह विरुद्धको खेलमा ६–० र ३–१ ले अगाडि रहेको अवस्थामा शुभाङ्गी रिटायर्ड हर्ट भएपछि अन्जलीलाई विजयी घोषित गरिएको थियो ।

नेपाल र भारतको ब्वाइज/गर्ल्स दुवै टिम कजाकिस्तानमा आगामी नोभेम्बरमा हुने आईटीएफ एसिया यू–१२ टिम टेनिस च्याम्पियनसिपका लागि यसअघि नै छनोट भइसकेका छन् । उक्त च्याम्पियनसिपका लागि फाइनल पुग्ने टिम छनोट हुने प्रावधान रहेको छ । गत संस्करणमा भने नेपालको ब्वाइज टिम मात्र छनोट हुन सफल भएको थियो ।

ब्वाइजमा पाकिस्तान र गर्ल्समा श्रीलंकाले तेश्रो स्थानमा चित्त बुझाए । ब्वाइजमा पाकिस्तानले श्रीलंका तथा गर्ल्समा श्रीलंकाले भुटानलाई समान २–० को नतिजामा पन्छाए । पाँचदिने प्रतियोगिताको ब्वाइजमा ५ राष्ट्रका १५ खेलाडी सहभागी थिए । गर्ल्समा ४ राष्ट्रबाट १२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Post Add 1025X115
Loading...