भारतीय टेनिस स्टार सानिया मिर्जा गर्भवती

0

नेप्लेज, ११ बैशाख । ग्राण्डस्लाम विजेता भारतीय टेनिस स्टार सानिया मिर्जाले उनी र उनका श्रीमान पाकिस्तानी पूर्व क्रिकेट कप्तान सोएव मलिक आफ्नो पहिलो बच्चाको प्रतीक्षामा रहेको सार्वजनिक गरेकी छन् ।

३१ वर्षीया मिर्जाले सामाजिक सञ्जाल ट्वीटरमा बेबी भेष्टका साथै आफू र मलिकको नामको टिसर्टसहित दूधको बोत्तल रहेको तस्वीर सार्वजनिक गरी ‘बेबी मिर्जा मलिक’ उल्लेख गरेकी छन् ।

उनको यो पोष्टबाट सबैजना निश्चिन्त भएका छन् कि उनीहरु बच्चाको आमाबुबा बन्दैछन् । यद्यपि मिर्जाले गर्भावस्थापछि पुनः करिअरमा फर्किने नफर्किनेबारे प्रष्ट उल्लेख गरेकी छैनन् ।

 

मिर्जाले ६ पटक ग्राण्डस्लाम डवल्सको उपाधि जितेकी छन् । सन् २०१५ को विम्बल्डनमा मार्टिना हिंगिजसँग मिलेर उनले पछिल्लो पटक ग्राण्डस्लाम जितेकी थिइन् ।

उनको पछिल्लो डब्यूटीए सहभागिता बेइजिङमा गत सेप्टेम्बरमा भएको चाइना ओपनमा हो । त्यसयता घुँडाको चोटका कारण उनी कोर्टमा देखिएकी छैनन् ।

सन् २००५ मा उनी डब्ल्यूटीए सिंगल्सको उपाधि जित्ने पहिलो भारतीय खेलाडी बनेकी थिइन् र सन् २०१५ मा महिला डवल्समा शीर्ष बरियातामा आउने पहिलो भारतीय टेनिस खेलाडी पनि बनेकी थिइन् ।

३६ वर्षीय मलिकले सन् २००१ देखि २०१५ सम्म पाकिस्तानका लागि ३५ टेष्ट खेलेका छन् ।

दक्षिण एशियाकै हाइ प्रोफाइल यो जोडीले सन् २०१० मा विवाह गरेको थियो ।

Post Add 1025X115
Loading...