वेस्टर्न ओपन गल्फ पोखरामा सुरु, जयराम र अजितको संयुक्त अग्रता

0

फागुन २३, काठमाडौं । वेस्टर्न ओपन गल्फको पहिलो दिन प्रोफेस्नल गल्फर जयराम श्रेष्ठ र एम्योचर खेलाडी अजित बिके १ ओभर ७१ अंक सहित संयुक्त रूपमा शीर्षस्थान हासिल गरेका छन् ।

पोखराको हिमालयन गल्फ कोर्समा बुधबार १८ होलको समाप्तिमा जयराम र अजितले भू बहादुर गुरूङ र धन बहादुर थापालाई १ स्ट्रोकले पछि पारे ।

जयरामले पाँचौं होलमा बोगी प्रहार गर्दै फ्रन्ट नाइन १ ओभर ३६ मा सकाए । यसपछि १०औं, १२औं र १८औं होलमा एक एक सट खेर फाल्दा ११ औं, १४औं र १६औं होलमा बर्डीको सफलता प्राप्त गरे र ब्याक नाईन ईभन पार ३५ मा सकाए ।

लोकल एम्योचर अजितले फ्रन्ट नाईन १ अण्डर ३४ र ब्याक नाइन २ ओभर ३७ मा परा गरे । उनले दोस्रो होलमा बोगी प्रहार गर्दा छैटौं र आठौं होलमा एक एक सट बचाए । यसपछि १०औं र १७ औं होलमा बर्डीको सफलता प्राप्त गरेपनि १६औं र १८औं होलमा बोगी मात्र खेपेनन्,११ औं होलमा डबल बोगीको सामना गरे ।

भु बहादुर गुरूङ र धन बहादुर थापा २ ओभर ७२ अंक सहित संयुक्त रूपमा दोस्रो स्थानमा रहेका छन् । ३ ओभर ७३ अंकसहित सूर्यप्रसाद शर्मा पाँचौं तथा भुवन नगरकोटी र संजीव बहादुर नेपाली ७४ अंकसहित संयुक्त रूपमा छैटौं स्थान बाँडेका छन् । नेपाल नम्बर १ शिवराम श्रेष्ठ र कमल तामाङ ५ ओभर ७५ अंक सहित संयुक्त रूपमा आठौं स्थानमा छन् ।

सूर्य नेपाल गल्फ टुरको सातौं प्रतियोगिता वेस्टर्न ओपन ३ दिन सम्म चल्नेछ । प्रतियोगितामा २६ प्रो र १७ एम्चÞोर गरी ४३ खेलाडी सहभागी छन् । कुल ६ लाख ३० हजार नगद पुरस्कार रहेको प्रतियोगिताको विजेताले १ लाख १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ । दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश ७४ हजार र ५३ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

Post Add 1025X115
Loading...