क्रिकेटको नयाँ पुस्ता तयार गर्न सीपीएलः सुवास प्रधान

0

फागुन ४, काठमाडौं । नेपालय इन्टरनेशनलको आयोजनामा यही फागुन ७ गतेदेखि देशका १२ शहरमा तेस्रो संस्करणको कलेज प्रिमियर लिग आयोजना हुँदैछ । पोखराबाट सुरु हुने प्रतियोगिता देशभरका १२ शहरमा क्रमसः सञ्चालन हुनेछ ।

देशभरका १५० भन्दा बढी कलेजका ४ हजारभन्दा बढी खेलाडीहरु प्रतियोगिताका लागि एकत्रित हुँदैछन् । ग्रासरुटदेखि क्रिकेटको बिकास तथा जुनियर राष्ट्रिय टिमको बेञ्च बलियो बनाउन सहयोग गर्ने उद्देश्यले सुरु गरिएको कलेज प्रिमियर लिगले तेस्रो संस्करणसम्म आइपुग्दा फरक फरक फम्र्याटमा प्रतियोगिता गरी प्रतिभाको खोजी गरिरहेको छ ।

प्रतियोगिताका संयोजक सुवास प्रधानसँग हामीले आसन्न प्रतियोगिता र भावी योजनाबारे कुराकानी गरेका छौं ।

अहिले सीपीएलको तेस्रो संस्करण गर्दै हुनुहुन्छ, तपाईहरुले यस्तो प्रतियोगिताको कन्सेप्ट कसरी तयार पार्नुभो ?

त्यसबेला म खेलिरहेको थिएँ । खेल्दाखेल्दै यस्तो सोच आयो कि कुनै नयाँ फर्म्याटको प्रतियोगिता गरौं, जसले क्रिकेटलाई माथि उठाउन सकोस् ।

साथीभाइसँग सल्लाह गरेर जुनियर लेभललाई माथि उठाउनका लागि के गर्नुपर्ला भन्ने सोच गरियो ।

सन् २०१३÷०१४ ताका त्यस्तो खालको प्रतियोगिताहरु पनि थिएन । त्यतिबेला २ लाख पुरस्कार राशीको प्रतियोगिता गरेका थियौं । यसरी गर्दा भोलि नेपालको राष्ट्रिय टिमलाई कतै न कतै सहयोग पु¥याउँछ भने हामीले किन नगर्ने भन्ने सोच राख्यौं र त्यसरि सुरु गरेका हौं ।

सीपीएलको मुख्य उद्देश्य चाहीँ के हो त ?

नेपालले विश्वकप खेल्नुछ, सपना देख्नु छ या जित्नुछ भने जुनियर लेभलबाट सुरुआत हुनुपर्छ । सानैदेखि भविश्यलाई सोचेर लगानी गरेमा मात्र प्रतिफल आउने हो ।

सीपीएलको मुख्य उद्देश्य नै यही हो कि हामी यू–१६, यू–१९ स्तरमा तयारी गर्छौं र त्यहाँबाट छानिएका प्रतिभालाई भविश्यको राष्ट्रिय टिमबाट खेलेको हेर्न चाहन्छौं ।

तेस्रो संस्करणसम्म आइपुग्दा तपाईंहरुको जुन लक्ष्य थियो, त्यो कति पूरा भयो र कति बाँकी छ ?

लक्ष्य भन्दा पनि जबसम्म नेपालले अन्तर्राष्ट्रिय स्तरमा आफूलाई पहिचान दिलाउन सक्ने हुँदैन तबसम्म हाम्रो लक्ष्य पूरा भएको भन्न सकिन्न । हामी आफ्नो लक्ष्यमै छौं, एउटा बाटो बनाउने प्रक्रियामा छौं, हेर्दै जाउँ त्यस बाटोले हामीलाई कहाँसम्म लग्छ । आशा गर्छु कि हाम्रो मुलुकले पनि भविश्यमा अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै राम्रो गर्ला । यसै आशा र विश्वासका साथ नै हामी अगाडि बढिरहेका हौं ।

डोमेस्टिक प्रतियोगिताहरु कम भइरहेको अहिलेको अवस्थामा जसरी कलेजबाट टिम छनोट गराएर प्रतियोगिता गर्ने योजना ल्याउनुभयो, यसलाई निरन्तरता दिन सकिन्छ भन्ने सोच्नुभएको थियो ?

वास्तवमा भन्ने हो भने नेपालमा क्रिकेट संघ क्यान निलम्बन भएपछि पनि धेरै प्रतियोगिताहरु भइरहेका छन् । क्यान अस्थित्वमा रहँदा बरु त्यति प्रतियोगिता भएइको देखिन्नथ्यो । तर, जुनियर लेभलको प्रतियोगिता चाहीँ खासै छैन ।

क्रिकेटको मेरुदण्डको रुमा रहने जुनियर क्रिकेटको बारेमा धेरै कुरा हुन्छ, प्रतियोगिता, भौतिक पूर्वाधार लगानी लगायतका कुराहरु धेरै हुन्छ । तर, फिल्डमा एकदमै थोरै काम भइरहेको छ ।

अहिलेको राष्ट्रिय टोलीबाट खेलिरहेका हरुको एउटा समय आइसक्यो कि उनीहरु विस्तारै रिटायर्डको बाटोमा छन्, तर उनीहरुका लागि ब्याक अप खै त ? राष्ट्रिय टिमको बेञ्च स्ट्रेन्थ त तयार गर्नैपर्छ, त्यसका लागि जुनियर टिमका खेलाडीहरुलाई नै तयार बनाउने हो ।

त्यसैले जुनियर लेभलको प्रतियोगिता खासै नहुने भएकाले यू–१६, यू–१९ लाई फोकस गर्नका लागि हामीले प्रतियोगिता सुरु गरेका हौं । अहिले तेस्रो संस्करणमा छौं, यही लेगेसीलाई निरन्तरता दिने हाम्रो सोच छ ।

सबैको साथ मिलेको अवस्थामा हामी पछि हट्दैनौं । नयाँ नयाँ खेलाडी उत्पादन भएर राष्ट्रिय टिमसम्म पुग्दा हामी हाम्रो कार्यक्रम सफल भएको ठान्छौं ।

तपाई आफैं क्रिकेटर हुनुहुन्छ, क्रिकेट खेल्नु र प्रतियोगिता आयोजना गर्नुमा कुन बढी चुनौतिपूर्ण या कठिन हुने रहेछ ?

हुन त खेल्ने खेलाउने भन्ने क्रिकेट कै एउटा पाटो हो । तर, आजको दिनमा क्रिकेट व्यवसायिक बनिसकेको छ । पहिलेजस्तो एउटा प्रतियोगिता गराएर हुँदैन । प्रायोजकहरुको व्यवस्थादेखि सबै कुराहरु आउँछ । प्रायोजकको पनि आफ्नो व्यवसायिक हितका कुराहरु आउँछन्, फोकटमा कसैले लगानी गर्न चाहन्न ।

क्रिकेट खेल्न पनि सजिलो होइन । नेपालको जर्सी लगाइसकेपछि त्यसलाई न्याय गर्न सकिन्न कि भन्ने डर सदैब रहन्थ्यो । खेल्दा एउटा उद्देश्यका लागि हुन्थ्यो अहिले आयोजना गर्दा चाहीँ कसरी व्यवसायिक बनाउने, प्रायोजकहरुलाई कसरी खुसी पार्ने र भोलिका दिनमा अझै लगानी भित्र्याउन के गर्ने भन्ने नै सोच हुन्छ । दुवै च्यालेञ्जिङ कुराहरु नै हुन्, यसलाई तुलना नगर्ने कि !

प्रतियोगिताको आयोजनाका लागि सबैभन्दा ठूलो कुरा भनेको आर्थिक पाटो नै हो, स्कुल कलेजस्तरको प्रतियोगिता आयोजनाका लागि लगानी जुटाउनु कतिको चुनौतिपूर्ण छ ?

वास्तवमै अहिलेका प्रायोजकहरु पनि मेनस्ट्रिमका प्रतियोगिताहरुमै लालायित हुनुहुन्छ । त्यहाँबाट उहाँहरुलाई धेरै माइलेज पनि छ । पछिल्लो समय जति पनि प्रिमियर लिगहरु भइरहेका छन्, त्यहाँ प्रायोजकको चिन्ता छैन ।

तर, जुनियर लेभलको प्रतियोगितामा प्रायोजकहरु पनि त्यति उत्साहित नहुने समस्या देखेँ मैले । प्रायोजनका लागि कुरा गर्दा राष्ट्रिय खेलाडी छ÷छैन, कहाँ प्रतियोगिता हुन्छ, पुरस्कार राशी कति छ लगायतका प्रश्नहरु आउँछ, हामीलाई बुझाउनै कठिन हुन्छ ।

हामीले प्रायोजकहरुलाई राष्ट्रिय खेलाडी खेलाउने हैन कि राष्ट्रिय खेलाडी उत्पादन गर्ने प्रतियोगिता आयोजना गर्न लागेका हौं भनेर बुझाउनुपर्ने अवस्था छ । अर्कोतर्फ नेपालमा क्रिकेट निक्कै लोकप्रिय छ चाहे सिनियरमा होस चाहे जुनियरमा । लोकप्रियताको आधारमा पनि प्रायोजकहरुलाई मनाउन सकिन्छ ।

४ महिना अगाडि तपाईंले स्कुल प्रिमियर लिग पनि आयोजना गर्नुभएको थियो, त्यस प्रतियोगिताबाट नेपाली क्रिकेटले के उपलब्धि पायो त ?

उपलब्धी धेरै छ नि ! स्कुल प्रिमियर लिगबाट आएका खेलाडीहरु ६ जना यू १६ र ४ जना यू १९ को क्याम्पबाट खेलिरहेका छन् । हामीलाई व्यक्तिगत भन्दा पनि देशका लागि यसले राम्रो भइरहेको लाग्छ । वास्तवमा हामीले गर्व गर्ने कुरा पनि त्यही हो ।

अब, आसन्न कलेज प्रिमियर लिगको कुरा गरौं, प्रतियोगिता कसरी आयोजना गर्दै हुनुहुन्छ ?

बिगतको कलेज प्रिमियर लिगको अवधारणा हेर्ने हो भने हामीले फरक फरक प्रयोग गर्दै आएका छौं । भैरहवामा सन् २०१४ मा भएको इण्डो नेपाल कलेज प्रिमियर लिगमा सातवटा नेपालको र सातवटा भारतका कलेजका टोलीहरुलाई समावेश गरेर प्रतियोगिता गराएका थियौं ।

२०१६ मा भएको दोस्रो संस्करणमा आइपीएल, बिग ब्यासजस्ता बिदेशी लिगबाट प्रभावित हुँदै खेलाडीहरुलाई कलेजको टिममा आबद्ध गराएर एउटा कलेजको टिमबाट ३ जनासम्म बिदेशी खेलाडी खेलाउन पाउने गराएर प्रतियोगिता ग¥यौं ।

र, अहिलेको प्रतियोगितामा हामीले के योजना बनायौं भने प्रतियोगितालाई निरन्तरता दिने तर, यू–१९ लाई फोकस गरेर प्रतियोगिता गर्ने भन्ने सोचमा आयो ।

१२ शहरमा प्रतियोगिता आयोजना गर्ने भन्नुभएको छ, कति कलेजका टिमहरुको सहभागिता अपेक्षा गर्नुहुन्छ ?

अहिले मुलुकभरिका १२ शहरहरुमा प्रतियोगिता आयोजना हुन्छ । प्रतियोगिता हुने सम्बन्धित शहरलाई मात्र केन्द्रित नगरी त्यस आसपासका अन्य जिल्लाहरुबाट पनि टोलीहरु आउनेछन् ।

जस्तै इटहरीमा हामीले प्रतियोगिता गर्दैछौं भने झापा, इलामदेखिका टोलीहरु त्यहाँ खेल्छन् । एउटा सिटीमा कम्तिमा १५ देखि २० वटासम्म कलेजबीच प्रतिस्पर्धा हुनेछ ।

यसअर्थमा हामीले सिटीलाई बेस बनाएका छौं तर, त्यसआसपासका जिल्लाका टोलीहरुले सहभागिता जनाउन पाउनेछन् । जम्माजम्मी ४ हजार भन्दा बढी खेलाडीहरुलाई यस प्रतियोगिताले समेट्नेछ ।

ग्रासरुटदेखि नै क्रिकेट बिकासका लागि भनेर प्रतियोगिताको आयोजना गर्नुभएको छ, क्रिकेटको नियमक निकाय क्यान अहिले आईसीसीको निलम्बनमा छ, खेलकुद परिषदसँग पनि सामन्वय गर्नुभाको छ ?

यो प्रतियोगितामा ४ हजार भन्दा बढी खेलाडीहरु सहभागी हुन्छन् । उनीहरुले राम्रो खेलेको अबस्थामा सरकार र क्रिकेटको नियमक निकायले मान्यता दिनुपर्छ भन्ने हाम्रो अपेक्षा हो, सरकार र अन्य सरकारी संस्थाबाट हामीले यो भन्दा अरु सहयोगको अपेक्षा गरेका छैनौं ।

खेलकुद परिषदको मातहतमा पनि सयौं खेलहरु हुन्छन्, उसले क्रिकेटलाई मात्रै बढी चासो र समय दिनुपर्छ पनि हामी भन्दैनौं ।

तर, हामी राखेपबाट एउटा के सहयोगको अपेक्षा गर्छौं भने हामीले मुलुकभरका १२ शहरमा प्रतियोगिता आयोजना गर्दैछौं, रोखकुद परिषदका प्रशिक्षकहरु हुनुहुन्छ, उहाँहरुलाई दिनको २ घण्टा प्रतियोगिता हेर्न पठाइदिनुस् ।

४ हजार खेलाडीबाट एउटा टिम छनोट गर्न सकियो भने जुनियर टिमको बेञ्च बलियो हुनसक्छ । राम्रो प्रतिभाले राष्ट्रिय टिममा पनि योगदान गर्न सक्छ ।

वास्तवमा हामीले त सरकारको काम सजिलो बनाइदिएका छौं । प्रतियोगिता हामी गछौं प्रतिभा तपाईहरु चिन्नुस लैजानुस् । अहिले हामीले राखेपलाई त्यही अनुरोध गरेका छौं र उहाँहरु सकारात्मक हुनुहुन्छ ।

साथसाथै कलेजहरुको संगठन हिसानसँग पनि यस्तै खाले सहयोगको माग गरेका छौं । उहाँहरु पनि सकारात्मक हुनुहुन्छ ।

यसअघिका प्रतियोगिताबाट छानिएर राष्ट्रिय टिमसम्म पुगेका खेलाडीहरु छन् ?

किन नहुनु, अहिलेका युवा स्टार दिपेन्द्र सिंह ऐरी हाम्रो पहिलो संस्करणबाट उदाएका खेलाडी हुन् । जुन भैरहवामा भएको थियो । उनैको विष्फोटक व्याटिङले ले भारतको टोलीलाई हराउँदै फाइनलमा पुगेको थियो । सुपरओभरको उनको प्रदर्शन शायद कलेज प्रिमियर लिग इतिहासकै अविष्मरणीयमध्येको एक हो । त्यसपछि यू–१९ हुँदै उनी राष्ट्रिय टिमका नियमित सदस्य बनिसकेका छन् ।

त्यस्तै दोस्रो संस्करणमा सन्दिप सुनार यही प्रतियोगिताबाट उदाएका हुन् । अहिले २ जना खेलाडीले राष्ट्रिय टिममा स्थान बनाएका छन् भने भविश्यमा ४ जना, ६ जना हुँदै केहि न केहि योगदान हाम्रो तर्फबाट भइराख्यो भने हामीलाई पनि गर्व हुन्छ कि हामीले आयोजना गरेको प्रतियोगितामा अवसर पाएर उसले राष्ट्रिय टिममा पुग्न सक्यो ।

अन्तिममा, सीपीएलको तेस्रो संस्करणसम्म आइपुग्दा फरकफरक प्रयोग गरिराख्नुभएको छ, आगामी संस्करणहरुका लागि नयाँ योजनाहरु केहि सोच्नुभएको छ ?

हजुर, नेपाल संघीय ढाँचामा गइसकेको अवस्थामा प्रदेशको संरचना तयार भइसकेको छ । नेपाली खेलकुद पनि क्रमसः प्रदेश संरचनामा गइरहेको छ । आगामी संस्करणमा प्रदेश संरचनामा प्रतियोगिता गर्ने योजना छ । प्रदेशभरिका टिमहरु समावेश गर्ने र प्रतियोगिता गर्ने गर्दा अर्को संस्करणका लागि केहि नयाँ पनि हुन्छ । त्यहीअनुसारको गृहकार्य गर्नेछौं ।

Post Add 1025X115
Loading...