पारा तेक्वान्दोको ओलम्पिक ‘टार्गेट’

0

फागुन २, काठमाडौं । नेपाली तेक्वान्दोलाई बिधान लामा, संगीना बैद्य, दीपक विष्ट लगायतले संसारमाझ स्थापित गराए । अब पालो पारा तेक्वान्दोको आएको छ, जहाँ नेपाली टोली सन् २०२० मा जापानमा हुने पारा ओलम्पिकमा पदक जित्ने लक्ष्य लिएर तयारी गर्दैछ । तेक्वान्दोलाई पहिलो पटक पारा ओलम्पिकमा सहभागी गराइएकोमा नेपाली पारा तेक्वान्दो उत्साहित पनि छ ।

पारा खेलकुदमध्ये नेपालमा क्रिकेट र तेक्वान्दोले राम्रो प्रदर्शन गर्दै आएको छ । गत महिना दृष्टिबिहीन क्रिकेट टोलीले विश्वकप खेलेर आएको छ भने तेक्वान्दोले एशियाली तथा विश्व च्याम्पियनसिपमा पदक जितिसकेको छ ।

नेपाल तेक्वान्दो संघ मातहतमा चलिरहेको पारा तेक्वान्दोलाई राष्ट्रियस्तरमा स्थापित गराउने श्रेय कुँवर दाजुभाई यादव कुँवर र कल्याण कुँवर लाई जान्छ । दाइ यादवले विश्व च्याम्पियनसिपमा पदक जितिसकेका छन् । भने, भाइ कल्याण अहिले पारा तेक्वान्दोका प्रशिक्षक छन् । १३ जना राष्ट्रिय खेलाडीलाई दैनिक प्रशिक्षण दिएर प्रतियोगिताको लागि तयार बनाउँदैछन् ।

सन् २०१३ देखि राष्ट्रिय पारा तेक्वान्दोको प्रशिक्षण थालेका कल्याणले सुरुमा त खेलाडी खोज्नै निक्कै चुनौति ब्यहोर्नुप¥यो । अपांगता भएका व्यक्तिलाई म पनि खेल खेल्न सक्छु भन्ने बनाउनु सबैभन्दा ठूलो उपलब्धि हुने उनको धारणा छ ।

सामान्य खेलाडीलाई भन्दा डिसेबल खेलाडीलाई प्रशिक्षण गराउनु निकै कठिन हुने अनुभव हासिल गरेका कल्याण भन्छन्, ‘सामान्य खेलाडीलाई यसरी गर्नु भनेपछि गर्न सक्छन्, तर डिसेबल खेलाडीलाई उनीहरुजस्तै फिल गरेर गराउन समस्या हुन्छ । उनीहरु आफैंमा कमजोर हुन्छन्, चोट लाग्ने सम्भावना धेरै हुन्छ, सबै बिचार गर्नुपर्छ ।’

पाँच वर्षे प्रशिक्षणमा उनले धेरै खेलाडीहरु उत्पादन गरेका छन् । केहि खेलाडीले एशियाली तथा विश्व च्याम्पियनसिपमा पदक पनि जितेका छन् । आफ्नो यो सफलताले हौसिएका कल्याण नियमित र पर्याप्त प्रशिक्षण, डाइटिङ तथा म्याच एक्सपोजर पाए नर्मल खेलाडीले भन्दा डिसेबल खेलाडीले राम्रो प्रदर्शन गर्नेमा ढुक्क छन् । ‘पारा खेलाडीहरु सामान्यले भन्दा अवश्य राम्रो छन्, उनीहरुको भविश्य पनि छ, तर खेल्नेबित्तिकै प्रतिफल खोजिहाल्ने मानवीय स्वभावले गर्दा खेलाडीहरुमा निराशा आउनसक्छ, नियमित प्रशिक्षण र लामो अनुभव भएपछि विश्व स्तरमा मेरा पारा खेलाडीहरु कोही भन्दा कम छैनन् ।’

खेलाडी पहिचान गर्नु र उनीहरुलाई प्रतिस्पर्धामा योग्य बनाउनु कल्याणका लागि चुनौति हो र यसलाई उनले गम्भीरताका साथ निभाइरहेका छन् । खेलमा लागेर अझ अपांग बन्ने डरले कतिपय अभिभावकले आफ्ना बच्चालाई खेल्न नपठाउने गरेको अनुभव पनि उनीसँग छ ।

‘एकजना दिपेश भन्ने खेलाडी छ, उ मसँग प्रशिक्षणमा आएको धेरै भएको छैन, उसलाई खोज्न मलाई निक्कै चुनौति भयो, २÷३ महिना लगाएर उसलाई भेटेँ, त्यसमा पनि उसको परिवारले झट्टै विश्वास गरेन, यसै त हात छैन, तेक्वान्दो खेलाएर झन् घाइते बनाइदिने हो कि भन्ने पीर उनीहरुमा थियो ।’ कल्याणले थपे, ‘तर, अहिले उसले राम्रो खेलिरहेको छ, परिवार पनि खुसी छन्, मैले पनि सफलता पाएँ जस्तो लागेको छ ।’

पारा तेक्वान्दोका राष्ट्रिय टोलीको जिम्मेबारी पाए पनि उनी राष्ट्रिय खेलकुद परिषदका बैतनिक प्रशिक्षक होइनन् । तेक्वान्दो संघले केहि प्रयास गरे पनि राज्यस्तरबाट पारा खेलाडीप्रतिको व्यवहारबाट उनी सन्तुष्ट छैनन् ।

२०२० मा हुने ओलम्पिकमा पारा खेलकुदबाट पदक ल्याउन अहिलेदेखि नै तयारीको आवश्यकता देखेका कल्याण भन्छन्, ‘पारा ओलम्पिकका लागि अन्य मुलुकले गतवर्षदेखि नै तयारी सुरु गरिसके, हामीकहाँ अहिलेसम्म तयारी सुरु भएको छैन, बैदेशिक प्रशिक्षण त भन् कहिले हुन्छ थाहा छैन, मौसमअनुसारको प्रशिक्षण हुनु जरुरी हुन्छ, त्यसपछि डाइट र मेडिकलको व्यवस्था हुनु पारा खेलाडीका लागि अतिनै जरुरी हुन्छ, हामीसँग बढी उमेरका खेलाडी छन्, उनीहरुको इन्ज्यूरी हुने सम्भावना बढी हुन्छ, त्यसमा ख्याल गर्नुपर्छ ।’

२०५०÷५१ सालदेखि तेक्वान्दोमा लागेका कुँवरले क्षेत्रीय खेलकुद हुँदै राष्ट्रिय टोलीसम्म स्थान बनाएका थिए । २०५५ सालमा काठमाडौंमै भएको आठौं सागमा तेक्वान्दो टोलीमा परे पनि बिमारी भएपछि खेल्न पाएनन् । त्यसपछि उनले राष्ट्रिय टोलीबाट कहिल्यै खेलेनन् । एकैचोटी उनी प्रशिक्षकका रुपमा देखिएका हुन् । ‘क्षेत्रीय छनोट हुँदै काठमाडौंमा आएर खेल्दा सेकेण्ड पोजिसनमा थिए, राष्ट्रिय टिमको तयारीका लागि मेरो नाम छनोट भएको थियो, मेरो दुर्भाग्य, त्यति नै बेला टाइफाइट भएर खेल्न सकिन, त्यसपछि म राष्ट्रिय टिममा परिन ।’ कल्याणले भने ।

नेपालमा अहिले खेलाडीहरु पलायनको समस्या बढी छ । एउटा खेलबाट नाम कमाएपछि त्यसैको सदुपयोग गरी बिदेश पलायन हुने क्रममा नेपाली खेलकुद अधोगतिमा लागेको अनुभव उनले गरेका छन् । सरकारले ठोष योजना ल्याउन नसके यो क्रम नरोकिने पनि उनको उद्घोष छ ।

कल्याणको अबको योजना भनेको आसन्न पारा ओलम्पिकमा नेपाललाई पदक दिलाउनु नै हो । त्यसका लागि अहिल्यैदेखि तयारी सुरु गर्न उनले सरोकारवालालाई अनुरोध पनि गरेका छन् । पर्याप्त म्याच एक्स्पोजर, प्रशिक्षण, डाइट खर्च र मेडिकलको सुविधा पारा एथ्लिटहरुका लागि खड्किएको छ । यो सबैको तालमेल मिलेको अवस्थामा कल्याणले ठोकुवा गरेर भन्छन् कि ओलम्पिकमा जसरी पनि मेडल ल्याइन्छ ।

हेर्नुहाेस् भिडियाे

Post Add 1025X115
Loading...