भलिबलमा मानबहादुरको छलाङ

0

माघ १४, काठमाडौं । कुनै समय थियो नेपाली पुरुष भलिबलमा कैलाश भट्ट, सञ्जय अर्याल लगायतका स्पाइकरहरुको दवदवा रहन्थ्यो । घरेलु र अन्तर्राष्ट्रिय खेलमा नेपालले उनीहरुकै भर पर्नुपर्थ्याे । तर, दुवै खेलाडीको पलायनपछि नेपाली भलिबलमा एउटा ‘भ्याकुम’ देखियो । त्यही रिक्त स्थानमा नेपालले युवा र सम्भवतः अघिल्लो पुस्ताका भन्दा पनि शानदार खेलाडी पाएको छ, मानबहादुर श्रेष्ठको रुपमा ।

गएको सोमबार नेपाल भलिबल संघले प्रदान गरेको एनभीए अवार्डमा श्रेष्ठले वर्षको उत्कृष्ट खेलाडीको अवार्ड जिते । गत वर्ष अर्थात २०७३ सालमा घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा मानबहादुरको प्रदर्शन साँच्चिकै लोभलाग्दो थियो । घरेलु प्रतियोगितामा त्रिभुवन आर्मीले जितेका प्रतियोगितहरुमा उनै मानबहादुरको प्रदर्शन निर्णायक थियो ।

त्यतिमात्र होइन यस वर्ष नेपाललाई ऐतिहासिक अन्तर्राष्ट्रिय पदक दिलाउन पनि उनको प्रदर्शन अमूल्य रह्यो । बंगलादेशमा भएको एशियाली भलिबल महासंघ अन्तर्गतको एशियाली सेन्ट्रल जोन भलिबलमा नेपालले काश्य पदक जित्दा उनी नेपालका उत्कृष्ट स्पाइकरको रुपमा शीर्ष चारभित्र मनोनयनमा परेका थिए । त्यस प्रतियोगितामा नेपालले माल्दिभ्स र अफगानिस्तानलाई हराएको थियो ।

२४ वर्षीय मानबहादुरले भलिबल खेल्न थालेको १० वर्ष हुन लाग्यो । तत्कालीन नवरपरासी (अहिलेको नवलपुर)को कावासोतीस्थित जीवनज्याेति माविमा ७ कक्षा पढ्दैदेखि भलिबल सिकेका मानबहादुर सुरुमा क्रिकेटका सौखिन थिए । खेलेका पनि थिए । तर, धेरै प्रतियोगिता नहुने र खर्चिलो खेल पनि भएकाले उनी क्रिकेट भन्दा भलिबलमा फिट हुन थाले । ‘सानैदेखि क्रिकेटमा रुची थियो, तर क्रिकेट अलि खर्चिलो खेल पनि भयो र स्कुलको माहोल पनि भलिबलतिरै बढी भएकाले यसैमा लागेँ ।’ मानबहादुरले भने ।

नवलपरासी हुँदै पश्चिमाञ्चल क्षेत्रीय टिममा पुगेर स्कुले उमेरमै उनले राष्ट्रपति रनिङ शिल्ड खेले । प्रतियोगितामा उनले उत्कृष्ट स्पाइकर अवार्ड पनि पाएका थिए ।

बिभागले बदलेको करिअर

०६७ सालमा स्कुल जीवन सकिए पनि उनी भलिबलबाट टाढा हुन पाएनन् । पश्चिमाञ्चलको टोलीमा रहेर पनि केहि समय भलिबल खेलेका मानबहादुरले पोखरामा रहेर उच्चशिक्षा सुरु गरे । खेलकलाकै कारण उनले छात्रबृत्तिमा पढ्न पाए साथै बिभागको प्रवेश पनि त्यही कारण थियो ।

२०६९ सालमा नेपाल पुलिसको टिममा रहेर उनले बिभागीय खेलजीवन सुरु गरेका हुन् । तर, त्यो करारमा मात्र थियो । पुलिसको टिममा खेल्दाखेल्दै आर्मीमा भर्ना हुन पुगे, यो २०७१ सालको कुरा हो ।

दुईवर्ष पुलिसको टिमबाट खेल्दा अझै माझिएका मानबहादुर आर्मीमा स्थायी रुपमै आवद्ध भएपछि झनै खारिए । युवा खेलाडीहरु सम्मिलित आर्मीको टिमले घरेलु भलिबलमा प्रभुत्व जमाउन थालेको उनै आएदेखि हो । ‘खासमा म आर्मीमा सेलेक्ट हुन्छुजस्तो लागेको थिएन, तर भलिबलकै कारण मैले आर्मीजस्तो सम्मानित संस्थामा आबद्ध हुन पाएँ ।’ मानबहादुरले थपे, ‘यसले मेरो भलिबल करिअर नै अर्कै मोडमा लगिदियो ।’

नियमित आम्दानीको श्रोत, स्तरीय प्रशिक्षण र राष्ट्रिय टिमको ढोका पनि आर्मीमै आमद्ध हुनुको परिणाम मान्छन् उनी । पछिल्लो समय त्रिभुवन आर्मी क्लवको मात्रै होइन राष्ट्रिय टिमकै नम्बर एक स्पाइकर हुन् मानबहादुर ।

सागमा स्वर्ण जित्ने धोको

नेपालको राष्ट्रिय भलिबल टोलीमा बिभागीय खेलाडीको एकछत्र राज छ । अहिले पनि राष्ट्रिय टोलीमा ८ जना खेलाडी आर्मी, २÷२ जना एपीएफ र पुलिसबाट छन् ।

आर्मीमा आबद्ध भएको एक बर्ष नपग्दै मानबहादुरले सन् २०१५ मा बंगलादेशमा भएको एशियाली सेन्ट्रन जोन भलिबलमा राष्ट्रिय टोलीबाट डेब्यू गरे, त्यो पनि बंगलादेशबिरुद्ध नै । त्यसयता उनी निरन्तर राष्ट्रिय टिममा छन् र पछिल्लो डेढ वर्षदेखि लगातार मुख्य स्पाइकरको भूमिकामा छन् ।

उनको सपना भने अब नेपाललाई साग गेम्समा स्वर्ण दिलाउनु हो । ‘हामीले मुलुकका लागि एशियाली स्तरको पदक जितिसकेका छौं, गत संस्करणको सागमा हामी तेस्रो भयौं, अब नेपालमै हुने १३औं सागमा भलिबलबाट स्वर्ण जित्ने सपना छ ।’ उनले भने ।

राष्ट्रिय खेल बनेपछिको गर्व

क्रिकेट खेलाडी बन्ने लक्ष्य लिएर खेलजीवन सुरु गरेका मानबहादुरलाई अब क्रिकेटर बन्न नपाएकोमा गुनासो छैन । अझ, भाग्यले भलिबल खेलाडी बन्न पाएछु भनेर गर्व लागेको छ ।

‘गएको ४÷५ वर्षमा नेपाली क्रिकेटले पाएको सफलताले आफूपनि क्रिकेटर बन्न पाएको भए भन्ने लागेको थियो ।’ उनले हास्दै भने, ‘तर, भलिबल राष्ट्रिय खेल भएपछि त ओहो ! मेरो त राष्ट्रिय खेल पो हो त भन्ने लाग्छ ।’

करिअरले उचाई लिँदै गर्दा उनले पनि भलिबललाई लामो समयसम्म लैजान सक्छु भन्ने सोचेका रहेनछन् । आफ्ना अग्रजले जस्तै २÷४ वर्ष भलिबल खेलेर नाम कमाएपछि बिदेशिने सोचाई बनाएका मानबहादुर राष्ट्रिय खेल घोषणा भएसँगै ‘यूटर्न’ भएका छन् । भन्छन्, ‘अब बिदेश जान्न, सकुन्जेल भलिबललाई नै दिन्छु ।’

राष्ट्रिय खेल घोषणा भएसँगै टिमको व्यस्तता पनि बढेको छ । यसले खेलाडी खेलेरै बाँच्न सक्ने अवस्था बन्न थालेको छ । केन्द्र र मोफसलमा प्रतियोगिताहरु भइरहन्छन्, राष्ट्रिय खेल बनेपछि न अन्तर्राष्ट्रिय प्रतियोगिता, मैत्रीपूर्ण खेलहरु पनि खेलिरहिएको छ, यसले हामीलाई धेरै फाइदा पुगेको छ ।’ श्रेष्ठले भने ।

अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा अझै राम्रो खेल्नका लागि बैदेशिक प्रशिक्षण र सहभागिता धेरै भन्दा धेरै हुनुपर्ने भन्दै मानबहादुरले नेपाल भलिबल संघसँग त्यसको अपेक्षा पनि गरेका छन् ।
उनको अपेक्षा पूरा भएमा यसअघिका पुस्ताजस्तो करिअरको वीचैमा पलायन हुनुपर्ने अवस्थाबाट नेपाली खेलकुदले मुक्ति पाउन सक्छ ।

पुस्तान्तरणपछिको नेपालको राष्ट्रिय भलिबलमा अहिले युवा खेलाडीको बाहुल्यता छ । राम्रो एक्स्पोजर पाएमा यस टिमले ठूलो सफलता पाउनेमा मानबहादुर विश्वस्त छन् । भन्छन्, ‘फिजिकल्ली हामी कमजोर छैनौं, मात्र प्राविधिक रुपमा सुधार गर्नुछ, त्यसका लागि संघले केही गर्ला, अब त राष्ट्रिय खेल पनि भएको छ ।’

भलिबलमा लागेर उनले नाम दाम र इमानमात्र होइन जीवनसाथी पनि पाएका छन् । जावलाखेल क्लवकी पूर्व स्पाइकर लिशा थापालाई उनले जीवनसाथीको रुपमा भित्र्याए तीन वर्षअघि । यो जोडीको अहिले छोरी जन्मिएकी छन् । आमासहित चार जनाको परिवार मानबहादुरले भलिबल खेलेरै पालिरहेका छन् ।

मानबहादुरकाे भिडियाे प्राेफाइल हेर्नुस् 

Post Add 1025X115
Loading...